Home मुख्य समाचार राक्सिराङमा शैक्षिक अवस्था सुधार्न विभिन्न कार्यक्रम

राक्सिराङमा शैक्षिक अवस्था सुधार्न विभिन्न कार्यक्रम

शैक्षिक क्षेत्र सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरिँदै ।

हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्नका लागि विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । सोमबार गाउँपालिकाले पाँच–पाँच वटा विद्यालयलाई ल्यापटप र प्रिन्टर प्रदान गरेको पालिकाका शिक्षा शाखा प्रमुख पंकज थारुले जानकारी दिनुभयो । पालिकाले ५ लाख रुपैयाँ बराबरको ल्यापटप र प्रिन्टर प्रदान गरेको उहाँले जानकारी दिनुभयो । प्रिन्टर प्रदान गरिएका विद्यालयलाई गत वर्ष ल्यापटप प्रदान गरिएको थियो ।

पालिकाको प्रजा कल्याण प्रावि, जनसेवा प्रावि, सातकन्या प्रावि, बिन्देश्वरी प्रावि र भुमेश्वरी प्राविलाई ल्यापटप प्रदान गरिएको छ । प्राथमिक विद्यालय, भीमसेन प्रावि, राक्सिराङ गाउँपालिका–८ ठूलो टोड्केमा रहेको आधारभूत विद्यालय, नवजीवन आधारभूत विद्यालय र जुरेथुममा रहेको आधारभूत विद्यालयलाई पिन्टर प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । पालिकाले शिक्षा क्षेत्रमा सुधार गर्ने उद्देश्यले शिक्षक लक्षित विभिन्न तालिम आयोजना गर्दै आएको छ । पालिकाले ५३ जना बालविकास सहजकर्ताहरुका लागि तीनदिने मन्टेश्वरी सम्बन्धी तालिम प्रदान गरेको थियो । तालिममा ५२ जना बालविकास सहजकर्ता उपस्थित भएको शिक्षा शाखा प्रमुख थारुले जानकारी दिनुभयो । तालिम जेठ १५ गतेदेखि २० गतेसम्म दुई चरणमा सञ्चालन गरिएको थियो ।

यस्तै, कक्षा १ देखि ३ सम्म पठनपाठन हुने विद्यालयका ३० जना शिक्षकलाई गत जेठ ६ गतेदेखि ९ गतेसम्म एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम प्रदान गरिएको छ । कक्षा १ देखि ५, १ देखि ८ र १ देखि १० सम्म पठनपाठन हुने सबै विद्यालयका विषयगत शिक्षकलाई आज बिहीबारदेखि शनिबारसम्म तालिम सञ्चालन हुँदैछ । सामाजिक, विज्ञान, नेपाली, गणित र अंग्रेजी विषय पठनपाठन गराउने शिक्षकहरुका लागि विषयगत तालिम प्रदान गर्न लागेको शिक्षा शाखा प्रमुख थारुले जानकारी दिनुभयो ।

गाउँपालिकाले नयाँ नियुक्त भएका शिक्षकहरुलाई पनि तीनदिने तालिम सञ्चालन गरिसकेको छ । नयाँ नियुक्त भएका ५२ जना शिक्षकलाई गत वैशाख २३ गतेदेखि २६ गतेसम्म पालिकाले सेवाप्रवेश तालिम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । विद्यालयको लेखा शाखामा काम गर्ने १५ जना कर्मचारीलाई पनि लेखासम्बन्धी तालिमको व्यवस्था गरिने उहाँले बताउनुभयो । पालिकाले आगामी दिनमा विषयगतरुपमा शिक्षक दरबन्दी कायम गर्ने, प्रविधियुक्त शिक्षालाई जोड दिने, शिक्षकहरुलाई उपयुक्त तालिम प्रदान गर्ने योजना रहेको राक्सिराङ गाउँपालिकाको शिक्षा शाखा प्रमुख थारुले जानकारी दिनुभयो । शिक्षक आन्दोलनका कारण विद्यालयमा रोकिएको पठनपाठन अहिले नियमितरुपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

राक्सिराङ गाउँपालिकामा अहिले ५० वटा सामुदायिक विद्यालय रहेका छन् । पालिकाभित्र ५२ वटा सामुदायिक विद्यालय थियो । दुईवटा विद्यालयलाई मर्ज गरी अहिले ५० वटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय रहेका छन् । पालिकाभित्र कक्षा १० सम्म पठनपाठन हुने ६ वटा, कक्षा ८ सम्म पठनपाठन हुने ९ वटा र कक्षा ५ सम्म पठनपाठन हुने ४५ वटा विद्यालय रहेका छन् । गाउँपालिकाका विद्यालयहरुमा यसवर्ष हालसम्म ५ हजार ५ सय १६ जना विद्यार्थी भर्ना भएका छन् । भर्ना अभियान अहिले पनि चलिरहेको छ । गतवर्ष ६ हजार विद्यार्थी भर्ना भएका थिए ।

Exit mobile version