Home मुख्य समाचार बागमती प्रदेशसभा नीति तथा कार्यक्रममाथि छलफल जारी प्रतिफल योग्य आयोजना निर्माणमा जोड

बागमती प्रदेशसभा नीति तथा कार्यक्रममाथि छलफल जारी प्रतिफल योग्य आयोजना निर्माणमा जोड

बागमती प्रदेशसभा बैठकको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा: बागमती प्रदेशसभामा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम माथिको छलफल जारी रहेको छ । सोमबारदेखि सुरु भएको नीति तथा कार्यक्रम माथिको छलफल मंगलबारको बैठकमा पनि जारी रहेको हो ।

बैठकमा प्रदेशसभाका सदस्यहरुले सरकारको नीति तथा कार्यक्रमको पक्ष, विपक्ष र सुधारका विषयहरु आफ्ना धारणा राखिरहेका छन् । बैठकमा हालसम्म ३६ जना प्रदेशसभा सदस्यहरुले सरकारको नीति तथा कार्यक्रम माथि आफ्ना धारणा राखेका छन् । मंगलबारको बैठकमा सत्तारुढ दल र प्रतिपक्षबाट १६ जना प्रदेशसभा सदस्यहरुले आफ्ना धारणा राखेका थिए । उनीहरुले सरकारको नीति कार्यक्रमलाई बजेटमा जोड्ने गरी अघि बढाउन जरुरी रहेको औँल्याए । प्रतिफल योग्य आयोजना निर्माणमा सरकारको नीति कार्यक्रमलाई बजेट मार्फत् अघि बढाउन उनीहरुको सुझाव रहेको छ । विगतमा निर्माण भएका आयोजनाहरुको व्यवस्थापन तथा संचालनमा सरकारले ध्यान दिनुपर्ने उनीहरुको भनाई छ ।

बैठकमा बोल्दै एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले भौतिक संरचना विकासमा कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुलाई इन्टर्न गर्ने व्यवस्था मिलाउनु पर्ने बताउनुभयो । उहाँले आयोजनाहरुको उपयोगिता अध्ययन गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले निर्माण गरेका भ्यूटावरहरुको उचित व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई छ । सरकारले नीति तथा कार्यक्रम मार्फत् प्रस्तुत गरेको शिव सर्किट आयोजनाको उपयोगिता, प्रभावकारिता बारे अध्ययन गर्न जरुरी रहेको उहाँले बताउनुभयो । विद्यार्थीहरुलाई रोजगारी र उद्यमशिलतामा जोड्न पढ्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगबाट अघि बढाउन जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले बजेट कार्यक्रमलाई उत्पादन र रोजगारीमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले राजनीतिक दल भन्दा माथि उठेर प्रदेशको विकासमा जोड दिन जरुरी रहेको बताउनुभयो । बजेट छर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने अवस्था रहेको र त्यसतर्फ सरकारले ध्यान दिएर निर्वाचन क्षेत्र लक्षित कार्यक्रम तयार गर्नुपर्ने उहाँको भनाई छ । सरकारले विपद् प्रभावित नागरिकलाई लक्षित गरेर कार्यक्रमहरु तयार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रदेश सभा सदस्य अमृता नेपालले कृषकहरुको समस्याको विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । कृषकले रसायनिक मल नपाउने अवस्था अन्त्य गर्नेगरी सरकारले आवश्यक व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । हिमाल संरक्षण तथा आरोहणको विषयमा सरकारको नीति कार्यक्रमले समेट्न नसकेको उहाँको भनाई छ ।

प्रदेशसभा सदस्य रमेशकुमार महतले प्रदेश लगानी कोष निर्माण गरेर विकास आयोजनाहरु संचालनमा प्रयोग गर्न सकिने बताउनुभयो । नीजि क्षेत्रलाई सार्वजनिक निजी सहकार्य मार्फत् अघि बढाउन सक्ने उहाँले बताउनुभयो । प्रदेशका मन्त्रालयहरुले सेवा र आय क्षेत्र निर्धारण गरेर अघि बढ्नु पर्ने उहाँको भनाई छ । सरकारले लगानीको क्षेत्र पहिचान गरेर राजस्व संकलनको आधार तयार गर्नुपर्ने उहाँको सुझाव छ । सरकारले युवा प्रोत्साहन नीति स्पष्ट कार्यविधि तयार गरेर कार्यक्रमहरु तयार गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशमा उत्पादित वस्तुको व्यवस्थापन र नयाँ उत्पादनको अवसरहरु निर्धारण गर्नुपर्ने उहाँको भनाई छ ।

प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सरकारले नागरिकहरुलाई ढाँट्ने काम गरेको बताउनुभयो । सरकारले गर्न नसक्ने कामहरु नीति कार्यक्रममा ल्याएर नागरिकहरुलाई ढाँट्ने काम गरिरहेको उहाँको दावी छ । प्रदेश सरकारले बजेट विनियोजनको प्रणाली परिवर्तन गर्नुपर्ने उल्लेख गर्नुहुँदै गोसाईले भ्रष्टाचार नहुने ठाउँमा बढी बजेट पठाउनुपर्ने बताउनुभयो । सरकारले कार्यकर्ता, बिचौलियालाई बाँड्न बजेट वितरण गर्न नहुने उहाँको भनाई छ ।

अर्का प्रदेशसभा सदस्य तीर्थ लामाले सरकारले विपद् व्यवस्थापनमा बजेटलाई प्राथमिकीकरण गर्नुपर्ने बताउनुभयो । नागरिकको हितका लागि सरकारले एकल अधिकारको क्षेत्रमा बजेट कार्यक्रमलाई केन्द्रीत गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेश सभा सदस्य लक्ष्मी घिमिरे, सृजना सायजु, गीता काफ्ले, सुस्पा भुजेल, देवेन्द्र श्रेष्ठ, दिनेशचन्द्र देवकोटा, केशवराज पोखरेल लगायतले धारणा राख्नुभएको थियो । नीति तथा कार्यक्रम माथिको छलफल बुधबार पनि जारी रहनेछ । प्रदेशसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

Exit mobile version