भालुखोला (आमभञ्ज्याङ) : विपद्को जोखिम र जोखिमबाट बच्न अपनाउनुपर्ने सतर्कताको विषयमा रहेर मकवानपुरको विपद् प्रभावित क्षेत्रमै पुगेर बहस गरिएको छ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले हेटौँडास्थित सामुदायिक रेडियो, रेडियो निकास ९३.४ मेगाहर्जको स्थानीय सहजीकरणमा सोमबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५, भालुखोलामा भएको बहसमा बागमती प्रदेश सभा सदस्यहरु भारती पाठक र रुकु चौलागाई, मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपाली र मकवानपुरगढी गाउँपालिका–५ का वडाध्यक्ष दिपेश दाहाल, ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बजगाईको सहभागिता रहेको थियो ।
बहसमा सहभागी काभ्रेबाट बागमती प्रदेश सभा सदस्य निर्वाचित रुकु चौलागाईले इन्जिनियरिङ बिना नै पूर्वाधार विकासका कार्य गरिनु, अवैध खानी सञ्चालन हुनुले विपद्को जोखिम बढेको बताउनुभयो । प्रदेश सभा सदस्य चौलागाईले प्रदेश सभामा विपद्को विषयमा जिम्मेवारीपूर्ण भूमिकासहित छलफलको अभ्यास नभएको पनि गुनासो गर्नुभयो । आमरुपमा राजनीतिक दलका नेतृत्वको प्रवृत्तिबाट आम नागरिक जसरी निरीह हुन बाध्य छन् त्यसरी नै प्रदेश सभामा पनि दलका नेताहरुका अगाडि प्रदेश सभा सदस्यहरु निरीह हुनुपरेको पनि उहाँको गुनासो थियो । संघीय सरकारले गत असोजमा संघीय राजधानीको नख्खुखोलामै उद्दार हुन नसक्नुले पनि हामी विपद्को समयमा कस्तो अवस्थामा रहन्छौं भन्ने स्पष्ट बनाएको चौलागाईले दावी गर्नुभयो ।
प्रदेश सभा सदस्य भारती पाठकले प्रदेश सभामा विपद्को विषयमा छलफल भए पनि पर्याप्त नभएको उल्लेख गर्नुभयो । मानव वन्यजन्तु द्वन्द्वको विषय भने जटिल र गम्भीर भएको पाठकले उल्लेख गर्नुभयो । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका विषयमा विज्ञसँग छलफल परामर्श गरेर उचित नीति तय गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम हुनुपर्ने उल्लेख गर्नुहुँदै पाठकले भन्नुभयो, ‘जोखिमको अध्ययन गरेर पूर्वाधार विकासको कार्य गर्नु जरुरी छ । विपद्बाट बच्नका लागि पूर्वसूचना प्रणाली पनि विकसित गर्नु जरुरी छ ।’
बहसमा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी नेपालीले विपद् जोखिम न्यूनीकरण स्थानीय सरकारको एकल अधिकारको कुरा भए पनि स्थानीय सरकारले तत्कालिन राहत र उद्दारको काम गर्न सके पनि दीर्घकालिन योजनाका लागि भने प्रदेश र संघीय सरकारकै भर पर्न बाध्य रहेको बताउनुभयो । वडाध्यक्ष दिपेश दाहालले तीनै तहका सरकारको नीति तथा कार्यक्रममा प्रभावकारी जस्तो लाग्ने तयारी देखिए पनि बजेट विनियोजनमा भने ध्यान पुग्न नसकेको उल्लेख गर्नुभयो । अर्का वडाध्यक्ष कृष्णप्रसाद बजगाईले मकवानपुरगढी गाउँपालिका वर्षामा बाढी, पहिरो, चट्याङ जस्ता विपद्को जोखिममा रहेको र सुख्खा मौसममा डँढेलो र आगलागीको जोखिममा रहेको जानकारी गराउनुभयो । विपद् पीडितलाई राहत वितरण गर्न भने झन्झटिलो भएको उहाँको अनुभव छ । बहसमा स्थानीयले बाढी, पहिरो, चट्याङ, वन्यजन्तुबाट विपद्को जोखिम व्यहोर्न बाध्य भएको बताएका थिए । कार्यक्रममा अकोराबका लिलप्रकाश चन्दले सहजीकरण गर्नुभएको थियो ।
