हेटौँडा : चौथो संस्करणको जीतपुर–सिमरा टि–२० हरपुर च्याम्पियन ट्रफी अन्तर्गत मकवानपुरले दोस्रो खेलमा जित दर्ता गरेको छ । आइतबार भएको खेलमा मकवानपुरले पर्सा जिल्लाको युनाइटेड क्रिकेट क्लबलाई ४ रनले पराजित गरेको हो ।
टस जितेर व्याटिङ गरेको मकवानपुरले निर्धरित २० ओभरमा १० विकेट गुमाएर १ सय १६ रन जोडेको थियो । मकवानपुरका लागि असिम श्रेष्ठले २३ रन, युविन बुढाथोकीले २२ रनगको योगदान गरेको थियो । मकवानपुरका इरफान अली, विशेष विक्रम थापा र नवीन नेपाली शून्यमै आउट भए । बलिङतर्फ युनाइटेडका अभय यादवले ४ विकेट लिँदा फिर्दोस अन्सारी र अभिषेक तिवारीले २/२ विकेट लिए ।
१ सय १७ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको युनाइटेड क्रिकेट क्लबले निर्धारित २० ओभर खेल्दै १० विकेटको क्षतिमा १ सय १२ रन मात्रै जोड्न सफल भयो । युनाइटेडका सोनु अन्सारीले १८, सरसफराज मन्सुरी र पप्पु यादवले १७/१७ रनको योगदान दिए । बलिङतर्फ मकवानपुरका निश्चल दुलाल र विशेष विक्रम थापा ४÷४ विकेट लिए । प्लेयर अफ द म्याच मकवानपुरका निश्चल दूलाल घोषित भए ।
दोस्रो खेलमा जित दर्ता गरे पनि मकवानपुरको फाइनल पुग्ने सम्भावना भने न्यून छ । तीन वटा टिम भएको समूहमा समूहको अन्तिम खेलमा सोमबार रौतहट र युनाइटेड क्रिकेट क्लबबीच खेल हुनेछ । उक्त खेलमा रौतहटले जित दर्ता गरे रौतहट फाइनलमा प्रवेश गर्नेछ भने रौतहट पराजित हुँदा थोरै सम्भावना रहन्छ । यद्यपि मकवानपुरको जितमा नेट रनरेट कमजोर भएकोले रौतहट युनाइटेडबीचको खेलको नतीजामा भर पर्ने मकवानपुर जिल्ला क्रिकेट संघका सचिव विनोद बानियाँ बताउनुहुन्छ ।
