हेटौँडा : संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को केन्द्रीय समितिमा मकवानपुरका ५ जना शिक्षक निर्वाचित हुनुभएको छ । आइतबार काठमाडौंमा सम्पन्न सातौं महाधिवेशनबाट मकवानपुरका दीपक गौतम केन्द्रीय समिति उपाध्यक्ष, श्यामकृष्ण ज्ञवाली (एसके निधन) केन्द्रीय समिति उपमहासचिव निर्वाचित हुनुहुँदा सुदीप बर्तौला, नवीन मिश्र र चन्द्रमणि (सिएम) रिमाल केन्द्रीय समिति सदस्य निर्वाचित हुनुभएको छ ।
इस्टुको अध्यक्षमा भने होमकुमार थापा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ । यसअघि पनि केन्द्रीय समितिको उपाध्यक्ष नै रहनुभएका गौतम हेटौँडा–५ स्थित जीएस निकेतनका सहायक प्रधानाध्यापक समेत हुनुहुन्छ । यस्तै उपमहासचिवमा निर्वाचित हुनुभएका श्यामकृष्ण ज्ञवाली हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीमा कार्यरत हुनुहुन्छ । ज्ञवाली यसअघि केन्द्रीय समिति सदस्य हुनुहुन्थ्यो ।
केन्द्रीय समिति सदस्यमा निर्वाचित हुनुभएका बर्तौला यसअघि पनि केन्द्रीय समिति सदस्य नै हुनुहुन्थ्यो । बर्तौला हेटौँडा–९, लामसुरेस्थित हेटौँडा मोडर्न इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सीपल हुनुहुन्छ । केन्द्रीय समिति सदस्यमा निर्वाचित सिएम रिमाल बागमती प्रदेश समितिका सचिव समेत हुनुहुन्छ । रिमाल हेटौँडा–४ स्थित नवोदय शिशु सदनमा कार्यरत हुनुहुन्छ । यस्तै अर्का केन्द्रीय समिति सदस्य निर्वाचित मिश्र इस्टु हेटौँडा उपमहानगर समितिको अध्यक्ष हुनुहुन्छ भने हेटौँडा–५ स्थित जीएस निकेतनमा कार्यरत हुनुहुन्छ ।
