Home मुख्य समाचार अक्षयकोषको व्याजदर घट्नुको प्रभाव, आँचलको पाँचवटा सम्मान स्थगित

अक्षयकोषको व्याजदर घट्नुको प्रभाव, आँचलको पाँचवटा सम्मान स्थगित

‘बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रम’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजक ।

हेटौँडा: विविध कारणले अहिले मुलुकको अर्थतन्त्र कमजोर छ । कमजोर अर्थतन्त्रको प्रभाव सर्वत्र छ । कमजोर अर्थतन्त्रकै प्रभावका कारण हेटौँडामा साहित्यिक संस्थाले प्रदान गर्ने सम्मान समेत प्रभावित बनेको छ । महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले अक्षयकोषको व्याजदर घटेर आम्दानी घटेसँगै आँचलले यस वर्ष ५ वटा पुरस्कार स्थगित गर्ने निर्णय गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाको प्रवर्धनमा यही जेठ १७ गते शनिबार हेटौँडामा हुने ‘बृहत् साँस्कृतिक तथा साहित्यिक कार्यक्रम’ मा पाँच वटा सम्मान स्थगित गरेको आँचलले चार वटा सम्मान प्रदान गर्नेछ । बुधबार हेटौँडामा पत्रकार सम्मेलन गरेर

मङ्गलादेवी श्रेष्ठ बालप्रतिभा पुरस्कार सम्मान २०८१ बाल प्रतिभा अनसुया खनाललाई नगद ३ हजार ५ सय रुपैयाँसहित पुरस्कृत गरिनेछ । मुक्ति–तारा नवप्रतिभा सम्मान २०८१ बाट नवप्रतिभा स्वस्तिका दाहाललाई नगद ५ हजार १ रुपैयाँसहित सम्मान गरिनेछ । यस्तै सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८१ बाट कवि पुरुषोत्तम आचार्यलाई नगद १० हजार १ रुपैयाँसहित सम्मान गरिनेछ । आँचल सम्मान २०८१ बाट अक्षयकोष संस्थापक प्रकाश लम्साललाई सम्मान गरिनेछ ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्य रहने कार्यक्रममा ‘बालबालिका अभिभावक र आजको समाज’ विषयक मनोपरामर्श कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा प्राध्यापक तथा मामाघर नेपालका संस्थापक अर्पण पराजुलीले परामर्शदाताको रूपमा सहजीकरण गर्नुहुनेछ । कार्यक्रममा महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, सिविन बाल हेल्प लाइनका जिल्ला प्रमुख झविन्द्र ज्ञवाली र श्यामकृष्ण श्रेष्ठ ‘डिजिटल स्क्रिनको प्रभाव’ विषयक बहसमा सहभागी हुनुहुनेछ ।

कार्यक्रममा कक्षा ८–१२ तहस्तरीय कविता प्रतियोगितामा समेत हुनेछ । प्राप्त भएका कविताहरूमध्ये उत्कृष्ट १० छनौट गरी कविहरूको रचना वाचन गर्ने र प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना स्थान प्राप्त कवितालाई पुरस्कृत गरिनेछ । पुरस्कारहरू सोही अनुसार क्रमशः १० हजार, ७ हजार, ४ हजार र १ हजार रहनेछन् । कार्यक्रममा साहित्यकार निमेष निखिलको ‘कि नोट स्पिच’ प्रस्तुत हुने तथा मकवानपुर जिल्लाका विभिन्न साहित्यिक स्रष्टाका रचना समेत वाचन हुने अध्यक्ष सापकोटाले जानकारी दिनुभएको छ ।

महिलाहरूको क्रियाशील संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुर २०६९ सालमा स्थापना भएको हो भने संस्थाले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

Exit mobile version