हेटौँडा : मकवानपुरको थाहा नगरपालिका–१० स्थित नाटेश्वर माविको २८औं वार्षिक अभिभावक भेला शु्क्रबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गोपालीको सभाध्यक्षता तथा संघीय सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाको प्रमुख आतिथ्यमा अभिभावक भेलाको उद्घाटन समरोह भएको हो ।
अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद अर्यालले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विद्यालयका लेखापाल पुरुषोत्तम गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष हिरा बहादुर गमालले विद्यालयको निम्ति वडाको तर्फबाट आवश्यक सहयोग गर्दै आइरहेको र निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रमुख अतिथि महेशकुमार बर्तौलाज्यूले विद्यालयका लागि आठ कोठे विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालय शिक्षा विधेयक असार १५ गते भित्र आउने बताउनुभयो ।
अभिभावक भेलाबाट शिक्षक अभिभावक संघका प्रतिनिधिहरु समेत छनोट गरिएको थियो । कार्यक्रममा विद्यालयका शुभचिन्तक इन्द्रसरोवर गाउँपालिका–१ का दशनारायण लामाले शैक्षिक सुधारका लागि १५ हजार रुपैयाँ सहयोग गर्नुभयो । कार्यक्रममा विद्यार्थीले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरूद्वारा मार्च पास, मनोरञ्जनात्मक खेलकुद, विज्ञान प्रदर्शनी, पोषण सम्बन्धी प्रदर्शनी प्रस्तुत गरिएको थियो । कार्यक्रममा शिक्षक, कर्मचारीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल भिक्षु महासङ्घका सचिव भिच्छु निग्रोद सिद्धार्थ महर्जनले परियती नैतिक शिक्षा सम्बन्धी आफ्नो मन्तव्य राख्नुभएको थियो । मिना गोपालीले विद्यार्थीका लागि शैक्षिक सामग्री तथा ट्र्याक सुट उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थीलाई सम्झनाको चिनो वितरण गरी विदाई गरिएको थियो । अभिभावक भेलामा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई मेडल तथा प्रमाणपत्रले सम्मान व्यक्त गरिएको थियो । कार्यक्रममा अभिभावकहरूको मनोरञ्जनात्मक म्युजिकल चेयर खेल खेलाइएको थियो । उक्त खेलमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर गोपालीले विद्यालयको विभिन्न गतिविधि र आगामी कार्ययोजना सम्बन्धमा जानकारी गराउनुभएको थियो । अभिभावक भेलामा वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको आतिथ्य रहेको थियो ।