
हेटौँडा: हेटौँडामा जारी मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार क्वार्टरफाइनल चरणका दुई वटा खेल भएका छन् । आइतबारको खेलमा विजयी हुँदै हेटौँडा–३ र हेटौँडा–१५ सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो क्वार्टरफाइनल खेलमा हेटौँडा–३ ले हेटौँडा–८ लाई ३–१ गोलअन्तरले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको छ ।
हेटौँडा–३ का लागि विजय दोङले ह्याट्रिक गरे । ह्याट्रिक गरेका विजय म्यान अफ द म्याच घोषित भए । हेटौँडा–८ का लागि विजय बिकले सान्त्वना गोल गरे । आइतबार नै भएको दोस्रो खेलमा हेटौँडा–१५ ले हेटौँडा–१० लाई ३–२ गोलअन्तरले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको छ । हेटौँडा–१५ का लागि ऋषिराम मोक्तान, सुरेश वाईबा र अरुण गोलेले एक/एक गोल गरे भने हेटौँडा–१० का बिके तामाङले दुई गोल गरे । हेटौँडा–१५ का अरुण गोले म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत सोमबार पनि दुईवटा क्वाटरफाईनलका खेलहरु हुनेछन् । सोमबारको पहिलो क्वार्टरफाइनल हेटौँडा–१ र हेटौँडा–११ बीच हुनेछ । यस्तै सोमबारको दोस्रो खेल हेटौँडा–७ र हेटौँडा–१८ बीच हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ १५ गते हुनेछ ।