हेटौँडाः साहित्य संगम मकवानपुरले ८ जना स्रष्टालाई सम्मान गरेको छ । ३५५ औं नियमित साहित्य सन्ध्या तथा संगम साहित्य उत्सव २०८२ को अवसरमा हेटौँडामा आयोजित एक कार्यक्रममा पत्रकारसहित विभिन्न विधाका उत्कृष्ट ८ जना स्रष्टालाई सम्मान गरेको हो ।
साहित्य संगम मकवानपुर कृति सम्मान २०८०/०८१ बाट नगद २५ हजार १ रुपैयाँसहित अभय श्रेष्ठलाई सम्मान गरिएको छ । मकवानपुर साहित्यश्री सम्मान २०८१ बाट १५ हजार ५५५ रुपैयाँ सहित राजकुमार लामिछानेलाई सम्मान गरिएको छ । १५ हजार ५५५ रुपैयाँ राशिकै भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८१ बाट टीका आत्रेय सम्मानित भएका छन् ।
यसैगरी ११ हजार १०० रुपैयाँसहित विनोद÷सुनिता सुवेदी सम्मान २०८१ बाट पत्रकार रामकुमार एलनलाई सम्मान गरिएको छ । कार्यक्रममा नगद १० हजार रुपैयाँसहित दीपक मुडभरी स्मृति सम्मान २०८१ बाट समिर पाख्रिन सम्मानित भएका छन् भने मंगलादेवी स्मृति सम्मान २०८१ बाट १० हजार रुपैयाँसहित वबि थापा, मुक्तितारा सम्मान २०८१ बाट यश लामा, रामहरि देवु सम्मान २०८१ बाट मसान उपासकलाई सम्मान गरिएको छ ।
साहित्य संगम मकवानपुरका अध्यक्ष डिबी बर्तौलाको सभाध्यक्षता एवम् संगम मकवानपुरका संस्थापक सदस्य डा. केशव श्रेष्ठ ज्योतिको प्रमुख आतिथ्यमा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा सम्मानित स्रष्टाहरुले रचना वाचनसमेत गरेका थिए । उत्सवको अवसरमा सपना र सम्भावनाः सिर्जनामा नयाँ पुस्ता, कविताः युगको प्रतिबिम्बन विषयमा प्यानल छलफलसमेत भएको थियो ।
