Home मुख्य समाचार बालमैत्रीको धज्जी उडाउँदै किशोरी आमा

बालमैत्रीको धज्जी उडाउँदै किशोरी आमा

२० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह भन्दै राज्यले कानुनीरुपमा दण्डनीय बनाएको छ । बालविवाह गर्ने र गराउनेलाई जरिवाना तथा कैदसमेतको सजाय हुने कानुनी व्यवस्था छ । बालविवाह भएको भए पनि बदर हुने व्यवस्था छ । बालबालिकाको शारीरिक विकासका साथै मातृशिशु स्वास्थ्यमा आउनसक्ने जोखिम तथा शिक्षा आर्जन गर्ने पक्षमा बालविवाह निकै घातक मानिएको छ । बालविवाव जटिल सामाजिक समस्यासमेत रहँदै आएको छ । करिब ६ दशकअघि जारी भएको मुलुकी ऐनले नै बालविवाह अन्त्य गरेको भए पनि समाजमा बालविवाह भइरहेकै छ । बालमैत्री स्थानीय शासनयुक्त घोषणा भएका विभिन्न पालिकामहरुमा समेत बालविवाह र किशोरावस्थामै आमा बन्नेहरुको संख्यासमेत उल्लेख्य पाइएको छ ।

‘बिहेबारी २० वर्ष पारी’ भनेर गाउँशहरमा नारा लगाउन थालेको दशकौं भइसकेको छ । बालविवाह रोकथामका लागि सचेतनामूलक र अन्य कार्यक्रमका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट ठूलो धनराशि खर्च भइरहेकै छ । बालविवाह अन्त्यका लागि सरकारले नीति, नियम, कानुन पनि कार्यान्वयन गरिरहेकै छ । बालविवाह रोकथामका लागि अन्तराष्ट्रिय सन्धिमा हस्ताक्षर गर्नुका साथै थुप्रै प्रतिबद्धतासमेत जाहेर भएका छन् । तर, परिणाम शून्यजस्तै देखिँदैछ । न बालविवाह रोकथाम भएको छ, न २० वर्षमुनिका किशोरी आमा बन्ने क्रम रोकिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को चैत्र मसान्तसम्म २० वर्ष मुनिका ४३२ जना किशोरी आमा बनेका छन् । मकवानपुर जिल्लाभर ३ हजार ८४२ जना सुत्केरी भएकामा ११ प्रतिशतभन्दा बढी किशोरी छन् ।

आर्थिक वर्ष २०७९/८० मा मकवानपुर जिल्लामा ५ हजार १७२ जना महिला सुत्केरी भएकामा ५२९ जना (१०.२ प्रतिशत) २० वर्षमुनिका किशोरी थिए । यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा ४ हजार ४३० सुत्केरीमध्ये ४९१ जना (११.१ प्रतिशत) किशोरी रहेका थिए । यो तथ्यांकले किशोरी उमेरमै आमा बन्ने दर वर्षेनि उस्तै रहेको देखिन्छ । बालमैत्री घोषणा भएका मकवानपुरका पालिकाहरुमै किशोरी आमाको दर उल्लेख्य रहेको छ । देशकै पहिलो बालमैत्री पालिका घोषणा भएको मनहरी गाउँपालिकामा चालु आर्थिक वर्षको चैत्र महिनासम्म १८९ सुत्केरीमध्ये ३१ जना २० वर्ष मुनिका छन्, जुन १६ प्रतिशतभन्दा बढी हो । अर्को बालमैत्री गाउँपालिका मकवानपुरगढीमा किशोरी आमाको दर करिब एक चौथाई छ । मकवानपुरगढीमा ९१ सुत्केरीमध्ये २२ जना २० वर्ष मुनिका छन् । बालमैत्री बकैया गाउँपालिकामा पनि १८१ सुत्केरीमध्ये ३० जना (करिब १७ प्रतिशत) किशोरी छन् । गत फागुन १ गते बालमैत्री घोषणा भएको हेटौँडा उपमहानगरपालिकामा २ हजार ५४४ सुत्केरीमध्ये २०१ जना किशोरी छन् ।

२० वर्षभन्दा कम उमेरमै आमा बन्दा आमा र शिशुले जटिल स्वास्थ्य समस्याहरु सामना गर्नु परिरहेको छ । किशोरी अवस्थामा हुने गर्भधारणको एकमात्र कारण बालविवाह हो । तर, बालबालिकालाई प्रभावकारी यौन शिक्षा नदिनु, अभिभावकको निगरानी कम हुनु, आफन्त तथा साथीको दबाब वा प्रभाव र सामाजिक सञ्जालका कारण बालविवाह गर्ने र किशोरावस्थामै आमा बन्ने क्रम कम हुन सकेको छैन । बालविवाह गर्ने र किशोरी आमा बन्ने क्रम कम नहुनुले बालमैत्री स्थानीय शाषण घोषणालाई नै धज्जी उडाइरहेको छ । सबै तहका सरकारले बालविवाह निरुत्साहनसँगै किशोरावस्थामा हुने गर्भधारण न्यूनीकरणमा ध्यान दिनु आवश्यक भएको छ ।

Exit mobile version