हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले नयाँ भर्ना भएका विद्यार्थी र उनीहरुका अभिभावकलाई बिहीबार एक समारोहका बीच स्वागत गरेको छ । नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकलाई विद्यालयको वस्तुस्थितिबारे जानकारी गराउँदै विद्यार्थी र अभिभावकको आचारसंहिताका बारेमा समेत जानकारी गराइएको छ ।
विद्यालयका सहायक प्रधानाध्यापक भरत पोख्रेलले विद्यालयको वस्तुस्थितिबारे जानकारी गराउनुहुँदै विद्यार्थी र अभिभावकको आचारसंहिताबारे जानकारी गराउनुभएको थियो । भुटनदेवी माध्यमिक विद्यालयमा चालु शैक्षिकसत्र २०८२ मा ४ सय जना नयाँ विद्यार्थी भर्ना भएका सहायक प्रधानाध्यापक पोख्रेलले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा हेटौँडा–४ स्थित ओम्याक्स सिनेमा हलमा विद्यार्थी, अभिभावक स्वागत कार्यक्रम भएको हो ।
कार्यक्रममा शैक्षिकसत्र २०८० को एसईईमा विद्यार्थीलाई विषयगत ४ जीपीए ल्याउन सहयोग गर्ने शिक्षक र विषयगतरुपमा ९० प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण भएको विषयका शिक्षक १० जनालाई जनही ५ हजार १ सय रुपैयाँ नगदसहित सम्मान गरिएको छ । यस्तै पालिकास्तरीय परीक्षा २०८१ मा ४ जीपीए ल्याउने ४ जना विद्यार्थीलाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए । नवआगन्तुक विद्यार्थी र तिनका अभिभावकलाई सुविधासम्पन्न हलमा सहभागी गराएर स्वागत गरिएको प्रधानाध्यापक माधवप्रसाद दाहालले जानकारी दिनुभएको छ । कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देलको पनि आतिथ्य रहेको थियो ।
