हेटौँडा: बागमती प्रदेशसभाका सदस्यहरुले सरकारको आगामी वर्ष २०८२/०८३ को बजेटलाई विवादरहित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशसभाका सदस्यहरुले विगतका वर्षहरुमा हुने बजेट माथिको विवादलाई व्यवस्थापन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट कार्यक्रम निर्माण गर्नुपर्ने बताए ।
बुधबारबाट सुरु भएको प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) को प्रस्ताव माथि छलफल गर्दै प्रदेश सभा सदस्यहरुले सरकारलाई बजेटलाई सन्तुलित र प्रभावकारी बनाउनुपर्ने चुनौति रहेको बताएका थिए । विगतका सरकारले बजेटलाई सन्तुलित बनाउन नसक्दा पटक–पटक प्रदेश सभा बैठक नै प्रभावित हुने अवस्था बनेकाले उक्त समस्याको दीर्घकालिन समाधान गर्न जरुरी रहेको उनीहरुल औँल्याए ।
बैठकमा भारती पाठक, उर्मिला सुनुवार, ठाकुरप्रसाद ढकाल, सृजना साँयजु, डा. दिनेशचन्द्र देवकोटा, सुरेन्द्रराज गोसाईं, आनन्दकुमार श्रेष्ठ, ईश्वर सापकोटा, गीता काफ्ले, केशवप्रसाद पोखरेल, मातृकाप्रसाद भट्टराई, प्रभात तामाङ, छिरिङ दोर्जे लामा, भरतबहादुर केसीलगायत प्रदेश सभा सदस्यले प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सन्दर्भमा धारणा राखेका थिए ।
मंगलबारको प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दराज काफ्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । बुधबारबाट सुरु भएको सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल बिहीबार पनि जारी रहने छ । बैठकमा प्रदेश सभा सदस्यहरूले नागरिकको जीवनमा सकारात्मक परिवर्तन हुने गरी बजेट कार्यक्रम तयार गरी अघि बढाउनुपर्ने बताएका छन् । प्रदेशलाई समृद्ध बनाउन ठोस आधारसहितको बजेट ल्याउनुपर्नेमा उनीहरुको भनाई थियो ।
बैठकमा प्रदेशसभा सदस्य भारती पाठकले सरकारले जलवायु परिवर्तनप्रति ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले योजना, नीति तथा कार्यक्रम बनाउँदा जलवायु परिवर्तनका असरहरु न्यूनीकरणमा जोड दिनुपर्ने पाठकको भनाइ थियो । वर्तमान समयमा जलायू परिवर्तन ठुलो समस्याको रुपमा देखा परिरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारको बजेटमा वायु प्रदुषण, प्लास्टिक नियन्त्रणका कार्यक्रमहरु कार्यान्वयनमा सरकारले नीतिगत रुपमा अघि बढ्न जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रदेश सभा सदस्य उर्मिला तामाङले शिक्षाको गुणस्तर सुधारका कार्यक्रमहरु संचालनमा सरकार अग्रसर हुन जरुरी रहेको बताउनुभयो । प्रविधिमैत्री रुपमा शिक्षालाई अघि बढाएर समयसामयिक ढंगबाट पाठ्यक्रम विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ग्रामिण क्षेत्रका स्वास्थ्य संस्थाहरुलाई विस्तार र स्तरोन्नतिसहित विशेषज्ञ जनशक्तिको विकासमा जोड दिन जरुरी रहेको उहाँको भनाई छ ।
बैठकमा प्रदेश सभा सदस्य ठाकुर प्रसाद ढकालले नागरिकको अपेक्षा अनुसारको बजेट कार्यक्रम निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश विश्वविद्यालयलाई व्यवस्थित र स्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्ने बताउनुभयो । गरिब कृषकहरुको पहुँचमा शिक्षाको अवसर सृजना गर्नुपर्ने उहाँको भनाई छ । नागरिकको आयआर्जन बढाउन र रोजगारीको अवसर सृजना गर्न पर्यटन प्रवद्र्धनमा क्षेत्रमा प्रभावकारी कार्यक्रम तयार गर्नुपर्ने उहाँले जीकिर गर्नुभयो ।
बैठकमा आत्मनिर्भर नागरिक बनाउन सरकारको बजेटलाई केन्द्रीत गर्नुपर्ने प्रदेश सभा सदस्य सृजना साँयजुले बताउनुभयो । कृषि क्षेत्रको विकास गर्न वैज्ञानिक र यन्त्रीकरणमा सरकारले जोड्नुपर्ने उहाँले बताउनुभयो । सरकारले कृषकहरुको समस्या हल गर्ने, रासायनिक मलको उचित व्यवस्थापन, प्रविधि हस्तान्तरणको वातावरण तयार गर्न सरकारले कार्यक्रम तयार गर्नुपर्ने उहाँको भनाई छ । सुशासन र पारदर्शितालाई प्राथमिकीकरण गरी सरकारले आम नागरिकलाई आर्थिक उपार्जनमा जोड्न जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा बोल्ने अन्य प्रदेश सभा सदस्यहरुले आगामी नीति, कार्यक्रम र बजेट जनताको इच्छा, चाहना सम्बोधन हुने किसिमको, स्वदेशमा रोजगारी सृजना हुने किसिमको हुनुपर्नेमा जोड दिए । कृषि, उद्योग, वन, पर्यटक प्रवद्र्धनलगायत विषयलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने उनीहरुको भनाई छ । प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने छ । सो बैठकमा पनि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल हुने कार्यसूचि रहेको छ ।
