Home खेलकुद पालिकास्तरीय महिला भलिबलको फाइनलमा हेटौँडा र थाहा

पालिकास्तरीय महिला भलिबलको फाइनलमा हेटौँडा र थाहा

फाइनल प्रवेश गरेको थाहा नगरपालिकाको महिला भलिबल टिम ।

हेटौँडा : हेटौँडामा जारी तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार बिहान हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न पहिलो सेमीफाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ सेटले पराजित गर्दै हेटौँडा फाइनल प्रवेश गरेको हो । हेटौँडाले भीमफेदीलाई २६–२४, २२–२५, २५–१८ र २५–२१ ले पराजित गरेको हो ।

यस्तै दोस्रो सेमीफाइनल खेलमा थाहा नगरपालिकाले बकैया गाउँपालिकालाई सोझो सेटमा पराजित गरेको छ । थाहाले बकैयालाई २५–१२, २५–१७ र २५–१८ को सेटमा पराजित गरेको हो । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोग, मकवानपुर जिल्ला भलिबल संघ र केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल आजै ३ बजे हुनेछ । प्रतियोगितामा मकवानपुरका ७ वटा पालिकाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उपाधि विजेताले एक लाख रूपैयाँ नगद पुरस्कारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ८० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगितामा सान्त्वना हुने दुई टिमले ३० हजार रूपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Exit mobile version