हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देशको नाम उच्च राख्न खेलकुदका माध्यमबाट खेलाडीहरुले महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ । उहाँले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा हेटौंडा–४, हुप्रचौरमा आइतबार साँझ आयोजित बागमती प्रदेश प्रथम खेलकुद अवार्ड २०८२ समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले खेलकुदका माध्यमबाट देशको पहिचान मात्र नभई संस्कृति तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताउनुभयो । खेल पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा महत्वपूर्ण उपलब्धी प्राप्त गर्न सक्ने अवस्था रहेको उहाँको भनाई थियो । मुख्यमन्त्री लामाका अनुसार खेलकुद क्षेत्रको लागानीलाई उत्पादनमा जोड्ने गरी प्रदेश सरकार अघि बढेको छ । खेलाडी उत्पादन र संरचना विकासमा गरिएका लगानीलाई व्यवस्थित गर्ने गरी सरकारले नीति कार्यक्रम तयार गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेश सरकारले प्रशिक्षण केन्द्रका रुपमा खेल पूर्वाधारको विकास गर्ने बताउनुभयो । खेल पूर्वाधारलाई नियमित र निरन्तर बनाउन तथा खेलाडी उत्पादनका लागि पूर्वाधारमा लगानी बढाउँदै प्रशिक्षण केन्द्रको रुपमा विकास गर्ने मन्त्री काफ्ले बताउनुभयो । उहाँले खेल क्षेत्रको समग्र विकासका लागि प्रदेश सरकारले लगानी बढाउने जानकारी दिनुभयो ।
कार्यक्रममा कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले संघीय संरचनालाई बलियो बनाउन खेलकुद क्षेत्रले भूमिका खेलेको बताउनुभयो । उहाँले प्रदेशको पहिचानको रुपमा खेलकुद मार्फत् योगदान पुर्याएको बताउनुभयो । खेलकुद क्षेत्रका विकास र प्रवद्र्धनबाट स्वास्थ्य, संस्कृति, पर्यटनको विकासमा समेत सहयाग पुग्ने उहाँको भनाई छ ।
