Home खेलकुद जिल्लास्तरीय बक्सिङ प्रतियोगिताको फाइनल आज

जिल्लास्तरीय बक्सिङ प्रतियोगिताको फाइनल आज

हेटौँडा : हेटौँडामा जारी जिल्लास्तरीय बक्सिङ प्रतियोगितामा आइतबार ९ वटा फाइट भएका छन् । आइतबारका फाइटसँगै फाइनल फाइटहरु आज सोमबार हुने भएको छ ।

आइतबार हेटौँडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको ५४ केजी तौल समूहको सेमीफाइनल खेलमा विवेश जर्गा मगरले अनिस लामालाई पराजित गर्दा रेगन अधिकारीले लाक्पा दोर्जे लामालाई पराजित गरेको छ । फाइनलमा विवेशले रेगनको सामना गर्नुपर्नेछ । ५७ केजी तौल समूहमा सचिन श्रेष्ठले निश्चल क्षेत्रीलाई पराजित गर्दा निर्जल वाईबाले अञ्जल मल्ल ठकुरीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । फाइनलमा सचिन र अञ्जलबीच प्रतिस्पर्धा हुने भएको छ ।

६० केजी तौल समूहमा रिजन थापाले नितेश पुलामीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । ६७ केजी तौल समूहमा अरनभ कँडेलले स्वप्निल मानन्धरलाई पराजित गरेको छ भने रस्किन अधिकारीले आर्यन सुवेदीलाई पराजित गरेको छ । फाइनलमा अरनभ र रस्किनबीच प्रतिस्पर्धा हुनेछ । ५१ केजी तौल समूहमा दिवान्सु परियारले राकृत डिम्डुङलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित बनाउँदा ७५ केजी तौल समूहमा सारांश श्रेष्ठले शिवम् कार्कीलाई पराजित गर्दै फाइनल प्रवेश गरेको मकवानपुर जिल्लाका बक्सिङ प्रशिक्षक लालबहादुर पौडेलले जानकारी दिनुभयो । मकवानपुर जिल्ला बक्सिङ संघको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको प्रायोजनमा जारी जिल्लास्तरीय बक्सिङ प्रतियोगिताको फाइनल चरणका खेलहरु आज सोमबार हुनेछ ।

Exit mobile version