Home कला हेटौँडाका तीन विद्यालयमा कथा लेखन कार्यशाला सुरु

हेटौँडाका तीन विद्यालयमा कथा लेखन कार्यशाला सुरु

कथा लेखन कार्यशालाको उद्घाटन गर्नुहुँदै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा ।

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका ३ वटा विद्यालयमा आइतबारदेखि कथा लेखन कार्यशाला ‘कथा बुनौं’ सुरु भएको छ । क्यानोपी नेपालले उपमहानगरपालिकाकै सहयोगमा हेटौँडा–१ स्थित अमर मावि, हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालय र हेटौँडा–३ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयका विद्यार्थीलाई कथा लेखन सीप विकास गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको हो ।

आइतबार एक कार्यक्रमका बीच हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले हेटौँडा–१ स्थित अमर माध्यमिक विद्यालयमा कार्यशालाको उद्घाटन गर्नुभयो । विद्यार्थीलाई कथा लेखन कार्यशाला हुने भनेपछि उत्साहित भएर उद्घाटन गर्न र विद्यार्थीको कार्यशाला हेर्न आएको नगरप्रमुख लामाले बताउनुभयो ।

विद्यार्थीमा अध्ययन, आलोचनात्मक समीक्षा सीपसँगै लेखन सीप विकास गर्न कथा लेखन कार्यशालाको आयोजना गरिएको क्यानोपी नेपालका कार्यकारी निर्देशक अंगीरस कार्कीले जानकारी दिनुभयो । कथा लेखन कार्यशालामा प्रस्तुती चौलागाई, प्रतिक्षा पौडेल, हिमशिखा दाहाल, कुशल अधिकारी र सुजल अधिकारीले सहजीकरण गर्नुहुनेछ । ५ दिनसम्म चल्ने कार्यशालाले विद्यार्थीलाई कथा लेखनको सीप विकास हुने क्यानोपी नेपालकी संयोजक अञ्जुला जोशीले बताउनुभयो ।

कथा लेखन कार्यशालामा सहभागी अमर माध्यमिक विद्यालयका विद्यार्थीहरु ।

सन् २०१५ देखि कथा लेखन कार्यशाला ‘कथा बुनौं’ अभियान नै सुरु गरेको क्यानोपी नेपालले यसअघि काठमाडौं, ललितपुर, धादिङ, गुल्मी, धनुषा, संखुवासभा र झापा जिल्लामा पनि कार्यशाला आयोजना गरिसकेको छ । कार्यशालामा सहभागी विद्यार्थीले आफ्नो अभिव्यक्ति, प्रश्न निर्माण, संवादको कला समेत विकास गर्ने संयोजक जोशीको भनाइ छ ।

कथा लेखन कार्यशालाको उद्घाटन कार्यक्रममा वडाध्यक्ष सविन न्यौपाने, अमर माध्यमिक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष जानुका गिरी, अमर माध्यमिक विद्यालयकी प्रधानाध्यापक मालती उप्रेती, सिद्धार्थ माध्यमिक विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णको पनि आतिथ्य रहेको थियो ।

Exit mobile version