हेटौँडा : बागमती प्रदेशसभाको वर्षे (बजेट) अधिवेशन जेठ ५ गतेका लागि आह्वान भएको छ । प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ ५ गतेका लागि आह्वान गर्नुभएको हो ।
प्रदेश सरकारको सिफारिसमा उहाँले जेठ ५ गते बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएको हो । प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको सोह्रौं अधिवेशन बैठक आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।
प्रदेश सरकारको बैशाख २३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । बैठकले सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति कार्यक्रम माथि छलफल गर्न प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन गत चैत २० गते अन्त्य गरिएको थियो । सत्तापक्ष र प्रतिपक्षी दलहरु बीचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठक समेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो । प्रदेशसभाको बैठक गत माघ २६ गतेदेखि बस्न सकेको छैन भने प्रदेशसभामा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन समेत होल्ड भएका छन् ।
