हेटौँडा : रोटरी क्लब अफ हेटौँडा अन्तर्गतको रोटरी सामुदायिक संघ हाँडीखोलाको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले पुनः अम्बिका पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, कोषाध्यक्षमा सरिता सुवेदी, सदस्यहरुमा लक्ष्मी थापा, सानु सुनार, सुशीला बर्तौला, मिठु कार्की, पार्वती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला रहेका छन् ।
कार्यक्रम रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्य तथा अम्बिका पौडेलको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को रोटरी सामुदायिक संघ समितिका सहसंयोजक ईन्द्रप्रसाद नेपाल, रोटरी क्लब अफ हेटौँडाका पूर्व अध्यक्ष सुयशराज पराजुली, अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, सचिव उमाप्रसाद रैनियार, सहकोषाध्यक्ष सुदर्शन ढकालको आतिथ्य रहेको थियो ।
रोटरी ईन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ मा १६२ क्लब अन्तर्गत १२७ रोटरी सामुदायिक संघ रहेका छन् । जसमध्ये मकवानपुरमा हाँडीखोला र हेटौँडा उपमहानगरपालिका–१५, गौरिटारमा चुरेशिखर गरी दुई वटा रोटरी सामुदायिक संघ रहेका छन् । दुई रोटरी सामुदायिक संघको ४५ वटा समूहमा करिब चार सय महिला आबद्ध रहेका छन् । उनीहरुले गाई, बाख्रा, कुखुरा, तरकारी खेती, सिलाईकटाई लगायतका उद्यम गरिरहेका छन् । ५५ लाख बीउ पुँजीबाट गरिब तथा विपन्न महिलालाई विना व्याज सापटी रकम प्रदान गर्दै आइरहेको छ । सन् २०११ मा मकवानपुरमा रोटरी सामुदायिक संघ गठन भएको थियो । सय वटा देशमा ५४ लाख महिलासहित एक करोड व्यक्ति लघुवित्त कार्यक्रममा आबद्ध रहेको बताइएको छ ।
