Home मुख्य समाचार मकवानपुर क्याम्पसको आयोजनामा हेटौँडामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु

मकवानपुर क्याम्पसको आयोजनामा हेटौँडामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु

सम्मेलनको उद्घाटन समारोहपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा हेटौँडामा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्तप्रसाद पौडेलको अध्यक्षता तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीको प्रमुख आतिथ्यमा सम्मेलन भएको हो ।

सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीले सामुदायिक क्याम्पसले अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्नु प्रशंसनीय कार्य भएको बताउनुभयो । पछिल्लो समय विश्वविद्यालय तहको शिक्षामा विद्यार्थीको संख्या घट्दो क्रममा रहनु चिन्ताजनक विषय भएको उहाँले बताउनुभयो । देशभरका सामुदायिक क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले सहयोग गर्दै आएको उल्लेख गर्नुहुँदै प्रा.डा. अधिकारीले भन्नुभयो, ‘यतिबेला देशका १ सय ७८ वटा सामुदायिक क्याम्पसमा १ सय भन्दा कम विद्यार्थी छन् । विद्यार्थी नहुँदा क्याम्पसका कक्षाकोठा खाली छन् ।’ विश्वविद्यालय तहको शिक्षा हासिल गर्ने विद्यार्थीलाई उनीहरुको सफल भविष्यको सुनिश्चित हुने गरी शिक्षा प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै युनिसेफका प्रतिनिधि ठाकुर ढकालले बालबालिका र युवामा हुने लगानी महत्वपूर्ण भएको बताउनुभयो । विश्वविद्यालय तहको शिक्षा जागिर र रोजगारीका लागि मात्रै नभएर न्यायका लागि, अनुसन्धानका लागि मात्रे नभएर समाज परिवर्तनका लागि उपयोगी हुनुपर्ने उहाँको भनाइ थियो । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उच्च शिक्षाको अध्ययन गर्नु शैक्षिक प्रमाणपत्र प्राप्त गर्नु मात्रै नभई ज्ञान, सीप र दक्षता हासिल गर्न हुनुपर्ने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक सय भन्दा बढी प्रतिनिधि सहभागी छन् । ६० भन्दा बढी संख्यामा अनुसन्धानमूलक अध्ययनको प्रस्तुती रहनेछ ।

Exit mobile version