हेटौँडा : हेटौँडामा जारी महिला राष्ट्रिय फुटबल प्रतियोगिताको बिहीबार फाइनल खेल हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुई विभागीय टोलीहरु सशस्त्र प्रहरी बलको एपीएफ र नेपाल पुलिस क्लबका कप्तान र प्रशिक्षकले ट्रफी उचाल्ने दावी गरेका छन् ।
बुधबार हेटौँडा–६ स्थित गौरीटार रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै दुवै टिमका प्रशिक्षक र कप्तानले मिहिनेत गरेर उपाधी हात पार्ने दावी गरेका हुन् । एपीएफका प्रशिक्षक जिवेश पाण्डेले मिहिनेत गरेर उपाधी जित्ने बताउनुभयो । पुलिस पनि राम्रो टिम भएको बताउँदै उहाँले आट्याकिङमै ध्यान दिएर खेल्ने पनि बताउनुभयो । एपीएफकी कप्तान अनिता बस्नेतले निरन्तर खेल खेलिरहेकोले आफुहरुले अलि रेष्ट कम पाएको तर फाइनलमा उपाधी जित्ने गरी खेल्ने दावी गर्नुभयो ।
यस्तै पुलिसका प्रशिक्षक भोला सिलवालले एपीएफ तुलनात्मक रुपमा आफुहरुभन्दा बलियो टिम भएपनि कम्पिटिसनमा उत्रने बताउनुभयो । राष्ट्रिय टिमका खेलाडीले भरिपूर्ण एपीएफ बलियो भए पनि आफुहरुले जित्ने गरी खेल्ने र सबै खेलाडी शारीरिक रुपमा फिट रहेको प्रशिक्षक सिलवालले बताउनुभयो । यो पटक एपीएफलाई रोक्ने आफुहरुको रणनीति रहेको पनि उहाँले दावी छ । पुलिसकी कप्तान निरुता थापाले यो उपाधी जित्ने गरि आफुहरु मैदान उत्रने बताइन् ।
प्रतियोगिता पुलिस रौतहटको महिला टिमलाई ४–२ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा चितवनको महिला टिमलाई ७–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । यस्तै एपीएफ बीरगन्जलाई १२–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो भने सेमिफाइनलमा संकटालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ५ लाख रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ भने अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो सिजनमा एपीएफ र पुलिसबीच ५ पटक फाइनलमा भेट भएकोमा सबै उपाधी एपीएफले जितेको छ । केही दिनअघि नुवाकोट, लिग गेम, इलाम, नेपालगन्ज र लुम्बिनीमा भएको प्रतियोगिताको फाइनलमा दुई टोलीबीच प्रतिस्पर्धा भएकोमा एपीएफले सबै खेल जितेको छ ।
