Home मुख्य समाचार भौगर्भिक अध्ययन आवश्यक

भौगर्भिक अध्ययन आवश्यक

केही दिनअघि हेटौंडामा भएको एउटा घटनाले अहिले निकै चर्चा पाइरहेको छ । गत शुक्रवार अपराह्न सडकमा गुडिरहेको एउटा गाडी भासिएर बेपत्ता भएपछि हेटौंडामात्र नभई देशभर चर्चाको विषय बनेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमाना नजिकै गैरीगाउँमा ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याब बलेरो गाडी बेपत्ता भयो । एक्कासी सडक भासिँदा गाडी जमिनमुनि बेपत्ता भएको थियो भने गाडी भासिएको ठाउँमा पानीको दह बनेको छ । घाँस काट्ने मेशिन लोड गरेर सडकमा रोकिएको गाडीको अगाडिको भाग दब्न थालेपछि गाडीका चालक र सहचालक भाग्न सफल भएका छन् । सडकको बिचमा खाल्डो बनेर किन गाडी भासियो भन्ने कारण पहिचान र गाडी भासिएको ६ दिन भइसक्दा पनि फेला पार्न सकिएको छैन ।

सडकको बिचमै जमिन भासिएर गाडी बेपत्ता भएपछि त्यस विषयले सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्यापक चर्चा पायो । गाडी भासिएको ठाउँ हेर्न मानिसको घुइँचो लाग्न थाल्यो । बेपत्ता गाडी खोज्ने विविध प्रयत्नहरु सफल भएनन् । हेटौंडा उपमहानगरपालिकाको अनुरोधमा घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको प्राविधिक टोली आएर अध्ययन गर्‍यो । भूगर्भविद्सहितको टोलीले मंगलबार र बुधबार घटनास्थलको अध्ययन गर्‍यो । विभिन्न उपकरणसहित अध्ययनमा संलग्न भूगर्भविद्ले जमिनको सतहभन्दा करिब ६ मिटर तल गाडी रहेको हुनसक्ने भने पनि गाडी फेला परेको छैन । मंगलबार दिनभर अध्ययन गरेको टोलीले प्रोटोन म्याग्नेटोमिटर, पावर अगरलगायत उपकरण तथा प्रविधि प्रयोग गरे पनि गाडी रहेको ठोस प्रमाण दिन सकेन । गाडी भासिएर बनेको खाल्डोभन्दा केही पूर्वतर्फ म्याग्नेटोमिटरले ‘मेटल डिटेक्ट’ गरेको भनिए पनि गाडी नै हो भन्ने पुष्टि गरिएको छैन ।

अध्ययनमा सहभागी भूगर्भविद्का अनुसार सो क्षेत्रको भूवनोट निकै कमजोर र तरलतायुक्त रहेको छ । माथिल्लो भागमा केही माटो भरिए पनि तल्लो भागमा बालुवा तथा दलदलयुक्त माटो रहेको भनाइ छ । उक्त भूवनोटका कारण गाडी भासिएको स्थानमा प्रेसर जेनेरेट भएर जमिन तरलतामा परिणत भएको बताइएको छ । घटनास्थलको भूवनोट ग्लेइ शिल्ड तथा ५ मिटर तल बालुवा भेटिएको र भूमिगत पानी नजिक रहेको उक्त बालुवा भएको क्षेत्रमा केही डाइनामिक लोड परेमा हेजिटेड हुने र वैज्ञानिक भाषामा सेयर स्ट्रेन्थ शून्य हुने भूगर्भविद्को भनाइ छ । जमिनको स्टे«न्थ शून्य हुँदा उक्त क्षेत्रको माटो ठोस नभएर तरल बन्ने अवस्था रहने भएकाले गाडी भासिएको हुनसक्ने अनुमान अध्ययन टोलीको छ ।

घटनाको अध्ययनका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरेर बुधबार काठमाडौं फर्किएको छ । टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । प्रारम्भिक कार्य सम्पन्न गरी भूगर्भविद्हरु काठमाडौं फर्किएका छन् भने संकलन गरेका तथ्य र नमुनाको प्रयोशाला परीक्षणपछि मात्र दोस्रो चरणको अध्ययन हुने जानकारी दिइएको छ । सडकमै गाडी भासिएर बेपत्ता भएको यो घटना सम्भवतः मुलुकमै पहिलो होला । यो घटनाले सडक, पुल, भवन तथा अन्य संरचना बनाउँदा भौगर्भिक अध्ययन गर्नुपर्ने कुरामा सचेत बनाएको छ । जमिनको धरातलीय स्वरुप र भौगर्भिक अवस्थाको अध्ययन नगरी जथाभावी संरचना बनाउँदा भविष्यमा यस्ता घटना दोहारिनेतर्फ सबै पक्ष सचेत बन्नु आवश्यक छ ।

Exit mobile version