हेटौँडा : गाडी भासिएर हराएको विषयमा अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली हेटौँडा आइपुगेर काम थालेको छ। मंगलबार बिहानदेखि टोलीले काम सुरु गरेको हो ।
टोलीले घटनास्थलको भू–बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्ने छ ।
खानी तथा भूगर्भ विभागबाट ४ जनाको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन थालेको हो । विभागका भूगर्भविद् नारायण अधिकारी घटनास्थलको भौगोलिक अवस्था माटोको सतह र घटनाको कारण बारे तथ्यांकीय अध्ययन गर्नेछ ।
घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो। टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको विषयमा अध्ययन गर्ने उहाँको भनाई छ । म्याग्नेटो मिटरको आधारमा भुगोलको चुबकीय क्षेत्र तथा पदार्थ (एनोमेलिक) को अवस्था डिटेक्ट (पत्ता लगाउने) गर्ने उहाँले बताउनुभयो ।
गत शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानामा गैरीगाउँमा भित्रि सडकखण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिंगल क्याप बलेरो गाडी (भ्यान) जमिन भासिएर बेपत्ता भएको थियो ।
ना ४ च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासी जमिननै भासिएर जमिनमुनि बेपत्ता भएको थियो ।
लगातार ३ दिनसम्म खोज्दा गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागि भूगर्भविद्लाई ल्याएर अध्ययन गर्ने गरी पत्राचार गरेको थियो ।
