Home मुख्य समाचार सरकारसँग सहमति पश्चात शिक्षकको प्रतिक्रिया

सरकारसँग सहमति पश्चात शिक्षकको प्रतिक्रिया

मिति २०८२ बैशाख १७ गते शिक्षक महासंघ र सरकार बीच सम्पन्न ९ बुँदे सहमति बाहिर आएपछि यसपटक केहि प्रतिनिधि विचारहरु सामाजिक सञ्जालबाट साभार गरी यहाँ प्रस्तुत गरिएको छ । अन्यथा लिनुहुने छैन भन्ने विश्वासका साथ बिना अनुमति नै सञ्जालबाट साभार गर्दै धेरै समेट्ने चाहना भए तापनि सीमित व्यक्तिहरुको मात्र समावेश गर्न परेको बाध्यता व्यक्त गर्दछु ।

शिक्षक महासंघ अध्यक्षको वालबाट, ‘यस पटकको शिक्षक कर्मचारी आन्दोलन २०८१ माघ २० गतेबाट शुरु भयो । समग्रमा आन्दोलन ८९ दिन चल्यो तथापि अन्तिम चरणको २९ दिनको काठमाडौं केन्द्रित सडक आन्दोलन सर्वाधिक चर्चामा रह्यो । यसको मुख्य कारण साथीहरुको उत्साहजनक सहभागिता र नेतृत्वप्रतिको समर्थन हो । यसका लागि सबै आन्दोलनकारी साथीहरुप्रति आभारी छौं ।

लगातार २९ दिनसम्म चलेको काठमाडौं केन्द्रित सडक आन्दोलनमा पानी, घाम केहि नभनी उत्साहका साथ सहभागी हुने सबै शिक्षक कर्मचारी साथीहरुप्रति आभारी छौं । आन्दोलनको उपलब्धिको पहिलो श्रेय वहाँहरुमा जान्छ । त्यसैगरी महासंघका पदाधिकारी, आन्दोलन परिचालन समितिका संयोजक र सदस्य, आबद्ध सम्बद्ध संस्थाको नेतृत्व, राहत, बालकक्षा, सिकाई अनुदान, साविक उमावि, पेन्सन सरोकार समूह, प्राविधिक धार, विशेष शिक्षा तथा विद्यालय कर्मचारी साथीहरु सबैमा यसको श्रेय जान्छ । यी सबै साथीहरुप्रति आभारी छौं ।

–विधेयकले कानून बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरुन्तै ऐन जारी हुने परिस्थिति रहेन । यो आन्दोलन यस्तै रुपमा महिनौं लम्ब्याउने अवस्था पनि जटिल थियो । त्यसैले संसदीय दलका मुख्य सचेतक र समितिको सभापतिलाई सार्वजनिक लिखित प्रतिबद्धता गराएर २०८२ असार १५ गते प्रतिनिधि सभाबाट पारित हुनेगरी हामीले त्यो कामलाई सुनिश्चित गरेका छौं ।
– वर्षौंदेखि नमिलेको समान ग्रेड र तलबको मुद्दा यसपटक हल भएको छ । अस्थायी प्रकृतिका साथीहरुको बिरामी बिदा संचित हुने भएको छ । सिभिल अस्पतालमा कर्मचारीलाई जस्तै उपचार सुविधा पाउने निश्चित भएको छ । सबै शिक्षकका लागि दुर्गम भत्ता उपलब्ध हुने निश्चित भएको छ । मर्यादाक्रमको सवाल सम्बोधन भएको छ ।
– २०७५ पछि स्थायी भएका साथीहरुको निवृत्तिभरणको सवालमा आन्दोलनकै क्रममा केहि सफलता हात लागेको छ । यसलाई पूर्णता दिन निवृत्तिभरण कोष ऐन २०७५को संशोधन गराउनु पर्दछ । शिक्षा ऐन जारी सँगै यो ऐनको संशोधनका लागि समेत प्रयत्न जारी रहने छ ।
– अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायी करार, साविक उमावि, सिकाई अनुदान, विशेष शिक्षा प्राविधिक धार, लगायत) को स्थायित्वको विषय सहमति बमोजिम ऐनबाट सम्बोधन हुनेछ । ईसिडिका शिक्षक र विद्यालय कर्मचारीको समस्याको उचित निकास ऐन मार्फत खोजिने छ ।
– यस पटकको आन्दोलनमा कसैलाई कुनै चोटपटक नलागोस् भन्ने हाम्रो चाहना थियो तर छब्बिसौं दिनमा प्रहरीको दमनका कारण ६२ जना साथीहरु घाईते हुनुभयो । ती सबै साथीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । आन्दोलनमा वहाँहरुको योगदानप्रति उच्च सम्मान छ । आन्दोलनमा सहभागी भई घर फर्कने क्रममा मनाङका शिक्षक साथी मन घलेको निधन भएको छ । वहाँप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं ।
– आन्दोलनका क्रममा पानी वितरण गर्ने टिम नेपाल लगायत संस्थाहरु प्रति पनि आभारी छौं । त्यसैगरी आन्दोलनको समर्थन र ऐक्यबद्धता प्रकट गर्ने सबैप्रति आभारी छौं ।
– अब जारी हुने ऐन भित्र हाम्रा सहमतीका बुँदाहरु समावेश गर्ने सवालमा हामी पक्षीकरणमा लागि रहने छौं । फेरी एकपटक सबै साथीहरुप्रति आभार व्यक्त गर्दछौं ।

– लक्ष्मी किशोर सुवेदी, अध्यक्ष, नेपाल शिक्षक महासंघ
१) न जितियो, न बितियो, चट्टानी अडान ढुस, एक थान शिक्षा ऐन लिएर जान चैं नभुल्नुस है । –श्रीराम दहाल ।
२) खुसी हुन जान्नुपर्छ । यस्तो आन्दोलन अर्को एक महिना थपेको भएपनि हात लाग्ने यत्ति हो । र पृष्ठभूमिमा सम्झीरहेछु । विद्या भट्टराई ज्यूले तयार पार्नुभएको ७ बुँदामा रंग दलेर गरिएको हस्ताक्षर । – सुनिल गौतम ।
३) चालु अधिवेशनको आषाढ १५ सम्ममा, सरकार शिक्षा ऐन पारित गराउन प्रयास गर्ने प्रतिबद्ध रे । महासंघ ऐन नआए यो भन्दा कडा आन्दोलन गर्ने रे । अग्रगामी शिक्षा ऐन समयमै आआोस । शुभकामना । – खेमराज लामिछाने ।
४) आन्दोलन र सहमति बारे केहि प्रष्टता
– हाम्रा सबै पूर्वसहमति विद्यालय शिक्षा ऐन मार्फत सुनिश्चित हुने हो, हिजोको मन्त्री परिषद्ले गरेको निर्णय प्रशासनिक तवरले सम्बोधन गरिने मात्रै विषय हुन् । बाँकी रहेका कुरा सबै ऐनमा प्रबन्ध हुनेछन्, यसमा ढुक्क होउँ ।
– हामीले विद्यालय शिक्षा ऐन नलिई घर जान्नौ भनेर अडान लिएका कारण उपसमितिले २९ दिन सडक प्रदर्शन भित्र ९० प्रशित काम सम्पन्न गरिसकेको छ । विधेयकमा हाम्रा अधिकांश सहमति समेटिएका छन् । बाँकी रहेका कुरा टुंगिने गरी छलफल भैरहेको छ ।
– पूर्वमन्त्री माननीय विद्या भट्टराईसँग हाम्रो पटक–पटक वार्ता भएर भद्र सहमति भएकै हो । किन अचानक राजिनामा आयो वा बाध्य पारियो ? महासंघलाई होईन सम्बन्धित ब्यक्तिहरुलाई नै प्रश्न गर्नुहोस ।
– सम्माननीय प्रधानमन्त्रीले शिक्षा मन्त्रीलाई वार्ता र सहमतिका लागि अधिकार दिनुभएको हुँदा वार्ता सघन भएर निकास निस्केको हो भन्ने अन्तर्य बुझ्नुहोस ।
– वार्ता र सहमतिबारे पालिका, जिल्ला, प्रदेश, राष्ट्रिय आन्दोलन परिचालन समितिसँग राय लिएर सहमति गरिएको हो । केहि द्विविधा भए आआफ्नो नेतृत्वसँग कुरा क्लियर गर्नुहोस् ।
– असार १५ सम्म असाधारण एकता कायम गर्नुहोस् , त्यसपछि को कस्को हैसियत कति ? आन्दोलनमा योगदान कति ? नेतृत्वको क्षमता कति ? छाती खोलेर बहस गरौंला ।
– यो आन्दोलनबाट फर्कने क्रममा मृत्यु वरण गर्नुहुने मन घले, घाईते हुनुभएका साथीहरु, घामपानी, हुरी–बतास, अनेकौं हण्डर ठक्कर खाई अहोरात्र खट्नुहुने लाखौं शिक्षक कर्मचारी साथीहरु स्मरण गर्दै महासंघपरक शैलीको निरन्तर आन्दोलनमा लागिरहने प्रण गर्दछौं । आन्दोलन स्थगित भएको हो , अन्त्य होईन ।
– ९ बुँदे सहमति कार्यान्वयन महत्वपूर्ण छ, प्रत्यक्ष लाभ पाइहालेका साथीहरु पनि सम्झनु होस् ।
– यस आन्दोलनबाट शैक्षिक आन्दोलनको इतिहासमा पहिलो पटक शिक्षक कर्मचारीहरु पनि निजामती सरहको सेवा सुबिधा प्राप्ति जस्तै स्वास्थ्य उपचार, ग्रेड मिलान, मर्यादाक्रम, सबै प्रकृतिका अस्थायी शिक्षक कर्मचारी साथीहरुलाई बिरामी बिदा सन्चित, दुर्गम भत्ता, औषधी उपचारमा सुबिधा, बाल विकासदेखि अस्थायी प्रकृतिका सबै शिक्षक कर्मचारी समान अधिकारको उज्यालो यात्रा देखाएको छ । ऐन जारी पश्चात अब २१ प्रकृतिका शिक्षक कर्मचारीहरु एकै प्रकृतिका रुपमा रहन पाउने अवस्था सिर्जना भएको छ ।
– बाल विकास र विद्यालय कर्मचारीलाई पहिलो पटक राज्यले शिक्षक र कर्मचारीको रुपमा स्विकार गरेको छ । असार १६ बाट स्थायित्वको प्रक्रिया शुरु हुनेछ ।
– सामुदायिक विद्यालयमा कार्यरत नीजि श्रोतका शिक्षक कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय आफैंमा ऐतिहासिक छ ।
– यो सहमति कार्यान्वयन र कार्यान्वयन प्रक्रियामा सबै संघ संगठनको सर्वसम्मत निर्णय छ, अनुशासनमा बस्नुहोला ।

– अन्त्यमा, तमाम शिक्षक कर्मचारीको विश्वासप्रति नतमस्तक छु । लक्ष्य प्राप्ति नगरी विश्राम लिने छैन । मैले जुनसुकै परिस्थितिमा पनि उज्यालो किरण प्रकाशित भएको देख्छु । आन्दोलनले समग्र शिक्षक कर्मचारी साथीहरुको तागत नेपाल र विश्व दुनियाँले महसुस गरेको छ । – राम पोखरेल
५) सम्मानीय प्रधानमन्त्रीज्यू लगायत वार्तामा संलग्न ब्यक्तित्वलाई हार्दिक आभार व्यक्त गर्दछु । – विष्णु भण्डारी
६) २०५२ सालमा परीक्षा दिएर २०६० सालमा रिजल्ट आएपछि स्थायी भएका कति धेरै साथीहरु अझैसम्म तृतीय श्रेणीमा कार्यरत हुनुहुन्छ । आवधिक बढुवाको अवधि १० वर्ष राखियो भनेपनि उहाँहरुलाई २ तह बढुवा दिनुपर्ने हुन्छ । २०७५ सालमा स्थायी भएका साथीहरु फाईल बढुवामा परिसक्नु भयो । त्यसैले २०५२ को आयोगबाट २०६० मा नियुक्ति लिने साथीहरुलाई एकपटक मास प्रमोशनको व्यवस्था होस् । त्यसपछि २०६३ लाई सम्बोधन गरियोस् । अनिमात्र २०७१ का साथीहरुका लागि आवधिक बढुवा न्याय संगत हुन्छ । – गीता काफ्ले ।
७) यस पटकको शिक्षक आन्दोलन विश्राम गरी कर्मक्षेत्र तिर लागियो । गाली नगर्नु है । हाम्रो लक्ष्य शिक्षा सुधार गर्ने नै हो । – मिनकुमार दहाल ।
८) राजनीतिमा उच्च शैक्षिक योग्यताको त काम रहेनछ । त्यही बुँदामा एम.फिल. पास शिक्षा मन्त्रीसँग सहमति भएन ………..सँग चाहीँ भयो । – छवि विकल ।
९) आखिर उपलब्धि चाँही के भयो ? वार्तामा नेतृत्व भुलियो । भर्ना अभियान सकियो । – भुपेन्द्र चौलागाईं ।
१०) आन्दोलनको मागै पूरा भा छैन । खै त सरकार ढलेको ‘कसै–कसैको जिज्ञासा’ । – केदार तिमल्सिना
११) सहमतिका बुँदाहरु र प्रतिबद्धता बाहेक यस्ता दृष्यलाई (शिक्षकहरुको गीत र नाचको भिडियो) पनि शिक्षक आन्दोलनको उपलब्धि मान्दिने हो कि ? – मधु आचार्य ।
१२) माईतीघर मण्डलामा आन्दोलनको बेला जस्तै, गाडीमा उभिएर चर्को स्वरले, प्राप्त उपलब्धिहरु, कि जितिन्छ कि बितिन्छ, शिक्षा ऐन जारी नभएसम्म सडक छोडिन्न, भन्नेहरुकै मुखबाट सुन्न थियो । ( सम्झौताका बुँदाहरु) । – सुरज साउद ।
१३) वहाँहरु दुई महिला नेतृत्वलाई (विद्या भट्टराई र कमला तुलाधरको फोटो) आज झल्झली सम्झिरहे छु । यहाँ भन्दा बढी लेखिन, किनहोला कमेन्टमा लेख्नुहोला । – यदु सुवाल ।
१३) सहमति ‘अब लागौं आआफ्ना काम तिर के–के भयो सहमति ? (९ वटै बुँदाहरु र शिक्षक महासंघको विज्ञप्ति पूर्ण विवरण ) – रीता पाठक दहाल ।
१४) यति सहमति गर्न त पाँचै जना गाको भएनी पुग्नी रछ, ब्यर्थैंमा लाखौं शिक्षकको अबौं खर्च भो । – मनोज लामिछाने ।
१५) ९ बुँदे सहमतिपत्रमा संस्थागत विद्यालयका शिक्षक कर्मचारीका माग मुद्दा किन समेटिएन शिक्षक महासंघ ? विशेषगरी ६ नम्बर बुँदाबाट संस्थागत विद्यालयका शिक्षक कर्मचारी छुटाउनुको रहस्य के हो ? दोषी को हो ? महासंघ ? शिक्षा सचिव ? शिक्षा मन्त्री ? हामी जान्न चाहन्छौं । संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई धोका दिने तत्वहरु मुर्दावाद (सहमतिका ९ वटै वुँदाहरु) । – दीपक गौतम ।
१६) माग्नेको हात तल हुन्छ, दिनेको माथि हुन्छ क्या ‘कुरो बुझ्नु पर्‍यो नि’ । – कृष्णप्रसाद पोखरेल ।
१७) सामाजिक सञ्जालमा साथीहरुको नकारात्मक टिप्पणी पनि पाईयो । २९ दिनको ऐतिहासिक आन्दोलन २०८१/२०८२ को आन्दोलनबाट सोचेजस्तो उपलब्धिहरु प्राप्त नभएको पक्कै हो तर यसमा केहि उपलब्धि पक्कै भएका छन् । विवरणसहित विन–विनको मोडालिटीमा सहमति । –जनक देवकोटा ।
१८) शिक्षक आन्दोलन हाललाई शिक्षकको भन्दा विद्यार्थीको अधिकारलाई संरक्षण गर्दै अन्त्य भएको महसुस गरियो । देशका जिम्मेवार निकायले नै शिक्षालाई बेवास्ता गरिरहेको परिप्रेक्षमा नेतृत्वले यो भन्दा बढि गर्नसक्ने तागत पनि राख्दैन । आज भएको सहमतिले नयाँ शिक्षा ऐन निर्माणका लागि आईसवर्गको रुपमा काम गरोस् । – सम्झना अधिकारी ।
१९) शिक्षक भएर पनि शैक्षिक आन्दोलनलाई पराय सम्झिने र आफूलाई ठूलै शिक्षक नेता हो भन्ठान्नेहरुले आंशिक उपलब्धिलाई समेत खिसिटिउरी गर्दै सामाजिक सन्जालमा रोईलो गर्दा आफैं ढुस हुन्छ भन्ने थाहा छैन कि के हो ? – कुमार रुम्बा तामाङ ।
२०) अन्तमा, जिम्मेवार शिक्षक नेतृत्वहरुबाट अधिकांशले सहमतिका ९ बुँदाहरु र शिक्षा ऐनका सवालमा २०८२ असार १५ गतेसम्मको मिति नै तोकिएको सहमति विवरण लगायतका कुराहरु संलग्न गरी आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष संलग्नता जनाई योगदान गर्नेहरुमा धन्यवाद आभारका शब्दहरु सामाजिक सञ्जालमा अधिक भेटिन्छन् । साथै विद्यालय कर्मचारीहरु, संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरु लगायतकाले यो सहमतिलाई धोका हो भन्दै आक्रोश व्यक्त गरेका छन् ।

Exit mobile version