हेटौँडा : गृहिणी महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा व्यूटिपार्लर तालिम सुरु भएको छ । सोमबार लिपि प्रकाशन प्रालिको आयोजनाना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा तालिमको उद्घाटन भएको गढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले जानकारी दिनुभयो ।
तालिममा मकवानपुरगढी गाउँपालिकाका ८ वटा पालिकाका २० जना गृहिणीको सहभागिता रहेको छ । तालिम कान्तिलोकपथस्थित एलोरा ब्यूटिपार्लरबाट प्रदान गरिने छ । स्थानीय सरकार र बागमती प्रदेशको संयुक्त लगानीमा तालिमको सुरुवात भएको हो । सरकारको २०८१/८२ को बजेट अनुसार तालिम संचालन गरिएको उहाँले जानकारी दिनुभयो । व्यूटिपार्लर तालिम पश्चात मकवानपुरगढी गाउँपालिका–१ मा व्याग बनाउने, २ र ७ मा गलैँचा बुन्ने र ६ र ८ मा मौरीपालन तथा घार वितरण कार्यक्रम संचालन गरिने उपाध्यक्ष मानकुमारी नेपालीले बताउनुभयो ।
चालु आर्थिक वर्षका लागि मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा कुनै पनि तालिम नभएको उहाँले बताउनुभयो । बाँकी पालिकामा आर्थिक वर्ष २०८२/८३ मा तालिम संचालन गरिनेछ । सरकारको ३१ लाखको बजेट अन्तर्गत व्यूटिपार्लर तालिम ५ लाख लागतमा संचालन गर्न लागिएको उहाँले बताउनुभयो ।
