हेटौँडा : चितवन जिल्लाको रत्ननगर नगरपालिका–३, चितवन भ्यू टावर होटल अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । शनिबार राती १ बजेर ५० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गमा बीरगन्जबाट दाङ जाँदै गरेको फलामको रड लोड भएको बा प्र ०३–००१ ख १२७७ नम्बरको ट्रकले सोही दिशामा शान्तिचोकबाट टाँडीतर्फ जाँदै गरेको ग एएए ८४४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक रत्ननगर नगरपालिका–४ देबौलीका १९ वर्षीय डेबिट दराई र पछाडी सवार रत्ननगर नगरपालिका–२ का १७ वर्षीय सचिन मगर घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो । उपचारको क्रममा चालक डेबिटको राती २ बजेर ३१ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–९ का २४ वर्षीय नमन कुमार खनाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
