हेटौँडा : हेटौँडा–१० स्थित डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चको चौथो साधारणसभा शनिबार सम्पन्न भएको छ । मञ्चका अध्यक्ष इन्द्रप्रसाद नेपालको अध्यक्षता तथा बागमती प्रदेशका संस्कृति तथा पर्यटन विकास मन्त्री बिमल ठकुरीको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
भुगोलविद्, समाजशास्त्री डा. टोनी हेगनको स्मृतिमा स्थापना गरिएको पार्कमा एक महिनाअघि मात्रै डा. टोनी हेगनको अर्धकदको प्रतिमा अनावरण गरिएको थियो । मन्त्री ठकुरीले पार्कमा भइरहेको कार्यको प्रशंसा गर्नुहुँदै आगामी आर्थिक वर्षमा पार्कका लागि बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । साधारणसभामा सहसचिव सुरेश लामा भ्लोनले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्ष ज्ञानेन्द्र बहादुर कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । साधारणसभाको अवसरमा डा. टोनी हेगनको अर्धकदको सालिक बनाउने मूर्तिकार लक्ष्मण भुजेल र नेत्रज्योति टोल विकास संस्थाका सचिव मोहन बहादुर खड्कालाई सम्मान गरिएको थियो ।
साधारणसभामा वडाअध्यक्ष फुर्वा दोर्जे लामाले वडाको तर्फबाट पार्क निर्माणमा निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । डा. टोनी हेगन पार्क विकास मञ्चका अध्यक्ष इन्द्रप्रसाद नेपालका अनुसार पार्क निर्माणाधिन अवस्थामा रहेको, पार्क परिसरमा संरचनाहरु लगायत बगैँचाहरु बढ्र्दैै जाँदा पार्क सञ्चालन खर्च पनि बढ्दै गएकाले अबका दिनहरुमा सञ्चालन खर्च जुटाउन कठिनाई भइरहेको छ । यसका लागि एउटा छुट्टै अक्षय कोषको व्यवस्था गर्नु पर्ने अध्यक्ष नेपालले बताउनुभयो । डा. टोनी हेगन पार्क निर्माणका लागि हालसम्म २ करोड १० लाख रुपैयाँ लगानी भइसकेको छ ।
