Home मुख्य समाचार पत्रकार हत्याको निष्पक्ष छानवीन गर्न माग गर्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण

पत्रकार हत्याको निष्पक्ष छानवीन गर्न माग गर्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण

मानव अधिकार आयोगका पवन कुमार भट्टलाई ध्यानाकर्षण बुझाउँदै महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी ।

हेटौँडा : नेपाल पत्रकार महासंघ मकवानपुरले पत्रकार हत्याको निष्पक्ष छानवीनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशलाई ध्यानकर्षण पत्र बुझाएको छ । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेर पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानवीनका माग गर्दै ध्यानाकर्षण गराएको हो ।

आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवन कुमार भट्टलाई पत्रकार सुरेश रजकको हत्याका विषयमा छानवीन गर्न महासंघ मकवानपुरले माग गरेको छ । गएको चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घट्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण भएको र पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घट्नाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानवीन गरी दोषि माथि कारवाही, मृतक पत्रकारका परिवार तथा क्षति पुगेको सञ्चारगृहलाई क्षतिपूर्ति, घाइते पत्रकारको निःशुल्क उपचार, सञ्चारगृह र सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूति तथा विगतदेखि नै प्रेस स्वतन्त्रता हननमा संलग्न रहेकाहरूलाई कानुनी कारबाहीको माग गरेको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अधिकारले बताउनुभयो ।

उहाँका अनुसार गृहमन्त्री रमेश लेखक समक्ष चैत १८ गते ध्यानाकर्षण पत्र समेत पेस गरेको अवस्था रहेको छ । यद्यपि सरकारले पत्रकार महासंघको माग माग पूरा गर्नेतर्फ पहल नगरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै निमित्त प्रमुख भट्टले आयोगले घटना भए देखिनै निष्पक्ष छानवीन गरिरहेको बताउनुभयो । आयोगले चैत १५ को घटनालाई सुक्ष्म तवरले अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । मानव अधिकारका सवालमा आयोग गम्भीर रहेको र पत्रकारहरुको सुरक्षाका विषयमा पनि आयोगले सरकारलाई निर्देशन दिइरहेको उहाँले बताउनुभयो ।

Exit mobile version