हेटौँडा : बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने ७ दलको बैठक सुरु भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले मंगलबार बिहान ८ बजेका लागि बोलाएको बैठक निर्धारित समय भन्दा एक घण्टा ढिलो गरी सुरु भएको हो ।
चैत १८ सोमबार अपराह्न ४ः३० बजेका लागि बोलाइएको सर्वदलीय बैठक सार्दै सभामुख पाठकले मंगलबार बिहान ८ बजेका लागि बैठक बोलाउनु भएको थियो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ७ मध्ये ६ दलको उपस्थिति रहेको छ । नेमकिपा सर्वदलीय बैठकमा सहभागी छैन ।
सभामुख पाठकले पछिल्लो राजनीतिक घटनाक्रम र प्रदेशसभा संचालनको विषयहरु टुंग्याउन सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिनुभयो । विगतका सहमति, पछिल्लो समय प्रदेश सरकारका कामकाज तथा हालै विकसित राजनीतिक घटनाक्रमको बारेमा छलफल गरेर अघि बढ्ने तयारी रहेको उहाँको भनाई छ ।
सभामुख पाठकका अनुसार सत्तापक्ष र प्रतिपक्ष बीचका राजनीतिक सहमति कार्यान्वयनका सवालमा छलफल गर्न पनि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकले प्रदेशसभाको आजै बस्ने बैठकका कार्यसूचिका विषयमा पनि निर्णय गर्ने सभामुख पाठकको भनाई छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा ७ दलको प्रतिनधित्व रहेको छ । जसमा कांग्रेस ३७, एमाले २७ (उपसभामुख सहित), राप्रपा १३ (सभामुख सहित), एकीकृत समाजवादी ७, नेमकीपा ३ र हाम्रो नेपाली पार्टी २ सांसद सहित प्रतिनिधित्व रहेको छ ।
