Home खेलकुद राष्ट्रिय महिला फुटबलमा मकवानपुर ५–० गोलअन्तरले पराजित

राष्ट्रिय महिला फुटबलमा मकवानपुर ५–० गोलअन्तरले पराजित

एन्फा मकवानपुर महिला फुटबल टिम ।

हेटौंडा : चितवन जिल्लामा शनिबारबाट सुरू भएको राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एन्फा मकवानपुर फुटबल एकेडेमीले फराकिलो हार व्यहोरेको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भतपूर महानगरपालिकाको प्रवर्धनमा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एन्फा मकवानपुर ५–० गोलअन्तरले पराजित भएको हो ।

भरतपूर–७ स्थित कृष्णपुर खेलमैदानमा भएको उद्घाटन खेलमा एन्फा मकवानपुरको टिम भरतपूर–२४ को टिमसँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । भरतपुर सामु निरिह देखिएको मकवानपुरको टिमले विपक्षी पोष्टमा आक्रमण नै गर्न सकेन । भरतपुरले भने मकवानपुरको पोष्टमा निरन्तर आक्रमण गरिरह्यो । झण्डै आधा दर्जन प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो ।

प्रतियोगितामा मकवानपुरको महिलाटिम सहित अन्य ८ वटा टिमहरुको सहभागिता रहेको छ । प्रतियोगितामा एन्फा मकवानपुरको महिला टिमको प्रतिनिधित्व गर्नका लागि टिम प्रशिक्षकको रुपमा मकवानपुर महिला टिमका प्रमुख प्रशिक्षक भीम लामा गएका थिए । प्रतियोगितामा प्रशिक्षक लामाको नेतृत्वमा मकवानपुरबाट २३ जना खेलाडी जान सहभागी भएका थिए ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले ४० हजार रुपैयाँ प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत ९ गते हुने बताइएको छ ।

Exit mobile version