Home कला भीम विराग प्रतिष्ठानले विभिन्न विधाका ११ जनालाई सम्मान गर्ने

भीम विराग प्रतिष्ठानले विभिन्न विधाका ११ जनालाई सम्मान गर्ने

सम्मान कार्यक्रमबारे जानकारी गराउँदै प्रतिष्ठानका पदाधिकारी ।

हेटौँडा : भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न विधाका ११ जना व्यक्तिलाई सम्मान गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलनमार्फत पत्रकार, उद्यमी, संगीतकार, साहित्यकार, स्वास्थ्यकर्मी र विद्यार्थीलाई सम्मान गर्न लागेको भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले जानकारी दिनुभयो ।

फागुन १७ गते शनिबार हेटौँडामा एक समारोहका बीच भीम विराग राष्ट्रिय साहित्य पुरस्कार–२०८१ बाट काठमाडौंकी माया ठकुरी, भीम विराग राष्ट्रिय संगीत पुरस्कार–२०८१ बाट रुपन्देहीका गायक हेमन्त शर्मा, भीम विराग राष्ट्रिय कला पुरस्कार–२०८१ बाट मकवानपुरका कलाकार भोलाराज सापकोटा, भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८१ बाट काठमाडौंका पत्रकार/साहित्यकार ठाकुर बेल्वासेलाई सम्मान गरिने भएको छ । यी सबै सम्मान जनही नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।

यस्तै तुलसीमाया–शिवकुमारी सृजनशील नारी पुरस्कार–२०८१ बाट मकवानपुरकी महिला उद्यमी शोभा श्रेष्ठ, शिला नारी पुरस्कार–२०८१ बाट मकवानपुरकी महिला उद्यमी मेनका श्रेष्ठ, चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार–२०८१ बाट मकवानपुरका साहित्यकार/बाल साहित्य अभियानकर्मी दीपक गौतमलाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कारको राशि जनही १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

भीम–मथुरा बाल प्रतिभा पुरस्कार–२०८१ बाट मकवानपुरकी मेधावी विद्यार्थी रितिका छत्कुली, मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार–२०८१ बाट मकवानपुरकी स्वास्थ्यकर्मी निर्मला ब्लोन, अजित सेन–कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कार–२०८१ बाट मकवानपुरका दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई प्रदान गरिने भएको छ । यी सबै पुरस्कारको राशि जनही १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने उहाँले बताउनुभयो । रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार–२०८१ बाट पर्वतका लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई २० हजार राशिसहित सम्मान गरिने श्रेष्ठले जानकारी दिनुभयो । पुरस्कार वितरण समारोहमा गायक हेमन्त शर्मा तथा लोक दोहोरी गायक कुलेन्द्र विश्वकर्माको विशेष सांगीतिक प्रस्तुती रहने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

Exit mobile version