Home अन्तरवार्ता ‘बालबालिकाको जोखिमलाई हेरेर हामीले बालबालिका मैत्री बनाउनुपर्छ’

‘बालबालिकाको जोखिमलाई हेरेर हामीले बालबालिका मैत्री बनाउनुपर्छ’

विष्णुकुमारी लामिछाने, निर्देशक महिला बालबालिका तथा समावेशीकरण महाशाखा

हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा बालमैत्री वडा घोषणा भएका छन् । माघ २५ गते शुक्रबार १४ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरेसँगै हेटौँडा उपमहानगरका १९ वटै वडा बालमैत्री घोषणा भएको हो । उपमहानगरका सबै वडा बालमैत्री घोषणा गरिएपछि पालिकालाई नै बालमैत्री घोषणाको तयारी भइरहेको छ । बालमैत्री वडा घोषणा गरिए पनि बालबालिका श्रममै रहेका, बालबालिकामैत्री संरचना, व्यवहार नभएको भनी आलोचना समेत भइरहेको छ । यसैसन्दर्भमा बालमैत्री पालिका घोषणाका लागि हेटौँडा उपमहानगरपालिकाको सम्बन्धित महाशाखाको रुपमा महिला, बालबालिका तथा समावेशीकरण महाशाखाकी निर्देशक विष्णुकुमारी लामिछानेसँग समृद्ध समाज राष्ट्रिय दैनिकका लागि सम्पादक सुरेश श्रेष्ठले गर्नुभएको कुराकानी :

समाज : हेटौंडा उपमहानगरपालिकाका सबै वडाहरु बालमैत्री घोषणा भइसकेका छन् । अब उपमहानगरपालिलाई नै बालमैत्री घोषणा गर्न लागिएको अवस्थामा के के काम गरेर उपमहानगरपालिका बालमैत्री घोषणा हुन तयार भयो ?
लामिछाने :
हेटौँडा उपमहानगरपालिकाले बालमैत्री शासन अबलम्बन गर्नका लागि पहिला प्रतिबद्धता व्यक्त गरिएको थियो । नगरभित्रका सम्पूर्ण सरोकारवालाको उपस्थितिमा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउने भनेर सबैको प्रतिबद्धतासहित हामीले हस्ताक्षर नै ग¥यौं । त्यसपछि कार्यपालिका, नगरसभाबाट बालमैत्री शासनसँग सम्बन्धित विभिन्न कानुन बन्यो । नीति, कानुन कार्यान्वयनको चरणमा हामीले विभिन्न संरचनात्मक व्यवस्था पनि गरेका छौं । नगर र वडास्तरमा विभिन्न समितिहरु गठन भएका छन् । बालमैत्री सम्पर्क व्यक्तिहरु, सहजकर्ताहरु रहेका छन् । पछिल्लो चरणमा यसको दिगोपनाका लागि अगाडि बढ्न बालमैत्री सम्पर्क कर्मचारी पनि हामीले तोकेका छौं । यी विभिन्न कुराहरुलगायत बालकल्याण अधिकारी नियुक्त, बालमैत्री सम्पर्क कक्ष पनि स्थापना गरिएको छ । बाल समूह र नगरस्तरीय सञ्जालका बालबालिकालाई नियमित रुपमा बैठक बस्नका लागि सहज हुनेगरी पुष्पलाल पार्कमा बालमैत्री सम्पर्क कक्ष स्थापना गरेका छौं ।

समाज : अब हेटौंडा उपमहानगरपालिका बालमैत्री घोषणा हुँदा के कुराको सकारात्मक परिवर्तन हुन्छ ?
लामिछाने :
यसले धेरै ठूलो कुराको प्रभाव पार्छ । बालमैत्री नहुँदा हामीले जति पनि घटनाहरु देख्छौं र हेर्छौं, होटलमा खाना खान जाँदा होस् अथवा ग्यारेजमा मोटरसाइकल मर्मत गर्न जाँदा हामीले त्यहाँ बच्चाहरु काम गरिरहेका रहेछन् मात्रै भन्ने गरेका थियौँ । तर, अब हामीले त्यो हेरेर चुप लागेर कोही पनि बस्दैनन् । त्यसैगरी बालविवाह हुँदैन । गाउँघरमा बालबालिकाको मागी विवाह त धेरै कम भइसकेको छ । भागेर विवाह गर्नेको कुरा पनि कसैले थाहा पाउनुभयो भने तुरुन्त जानकारीमा आउँछ र त्यो विवाहलाई बदर गरेर २० वर्षपछि हुनेगरी हामी अगाडि बढ्छौँ ।

समाज : हेटौँडा अस्पतालको तथ्याङ्कलाई हेर्छौं भने किशोरी आमाहरुको संख्या उत्तिकै देखिन्छ ।
लामिछाने :
हेटौंडा उपमहानगरपालिकामा रहेको हेटौँडा अस्पतालमा सुत्केरी हुने आमाहरु कहाँका हुनुहुन्छ ? स्थायी ठेगाना हेर्नुपर्ने हुन्छ । अस्पतालमा सेवा लिने त बाहिरी जिल्लाका पनि हुनुहुन्छ । बाहिरी मुलुकमा बसोबास गरेर सुत्केरी हुनका लागि पनि यहाँ आउनु भएको हुन सक्छ । अझै पनि दूरदराजमा रहेका किशोरीहरु भागी विवाह गर्ने र किशोरावस्थामै गर्भवती बन्ने खालको प्रचलनले गर्दा पनि तथ्याङ्क देखिएको हो । हामीले धेरै जस्तो हेर्दा तराइका बासिन्दाहरु पनि यहाँ आउने र अन्य पालिकाहरुका किशोरी आमाहरु पनि आएर सेवा लिने भएको हुनाले सबै तथ्याङ्क हेटौँडा उपमहानगरपालिकाकै हो भनेर भन्न सक्ने अवस्था छैन ।

समाज : अब बालमैत्री भनेपछि हरेक संरचनाहरु, हाम्रो पूर्वाधारहरु, वस्तुस्थिति, बालबालिका जोखिममा नरहने हुनुप¥यो भन्ने कुरा छ । तर, हेटौँडा उपमहानगरपालिकाको मुख्य कार्यालय अगाडिकै सडक छेउका नै ढल नै खुला छ, छोपिएको छैन । त्यो त बालबालिकाको हिसाबले बालमैत्री नभएर जोखिमयुक्त छैन र ? कसरी हामी बालमैत्री भयौं ?
लामिछाने :
सबै पूर्वाधारको हिसाबले हेर्ने हो भने बालबालिकाको जोखिमलाई हेरेर हामीले बालबालिका मैत्री बनाउनुपर्छ । विस्तारै बनाउँदै जाने प्रक्रियामा पनि छौं हामी ।

समाज : हेटौँडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्ने अन्तिम चरणमा छौं । यसलाई कायमै राख्ने कुरामा कर्मचारी प्रशासन, जनप्रतिनिधि, नागरिक समाज, हेटौँडा उपमहानगरका सरोकारवाला सबै व्यक्तिमा कस्तो सन्देश प्रवाह भएको छ ?
लामिछाने :
अहिले हामीले जति पनि संरचना तयार गरेका छौं, त्यो संरचनालाई निरन्तरता र दिगोपनाका लागि बालबालिकाको पञ्चवर्षीय लगानी योजना प्रत्येक वडामा बनेर सुनिश्चित भइसकेको छ । त्यसैगरी पञ्चवर्षीय योजना, रणनीतिक योजना बनेर तयार भइसकेको छ । यसका लागि हामीले सम्पर्क कर्मचारी पनि तोकेका छौं । हामीले बाल समूहका बैठकहरु नियमित गर्ने, गराउने, सञ्जालका गतिविधिहरुलाई नियमित राख्नका लागि विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्ने गरेका छौं । आफ्नो आफ्नो कार्यक्षेत्रमा रहने बालबालिकाहरुलाई चाहिँ सक्रिय गर्ने र पुनःगठन गर्ने सूचीकृत गर्ने गराउने नियमित गराउनका लागि अतिरिक्त क्रियाकलाप सञ्चालन गर्नका लागि पनि संघसंस्थाहरु छन् ।

Exit mobile version