Home मुख्य समाचार कांग्रेस नेता बानियाँले भारतका लागि नेपाली राजदूत डा. शर्मालाई भेटे

कांग्रेस नेता बानियाँले भारतका लागि नेपाली राजदूत डा. शर्मालाई भेटे

भारतस्थित नेपाली राजदूतावासमा नेपाली काँग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँसहितको टोली राजदूत डा. शंकरप्रसाद शर्मासँग ।

हेटौँडा ः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँ र भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माबीच भारतमा रहेका नेपालीहरुको विभिन्न समस्या र समाधानका विषयमा छलफल भएको छ ।

भारतस्थित नेपाली राजदूतावासमा बुधबार विहान भएको भेटमा भारतमा बसेर व्यवसाय गरिरहेका नेपाली नागरिकको समस्या र नेपालबाट स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका नेपालीले व्योहोर्नु परेका समस्या समाधानका बारेमा राजदूत डा. शर्माबीच छलफल भएको बानियाँको सचिवालयले जानकारी दिएको छ ।

नेता बानियाँले भारतमा कार्यरत नेपाली मजदुर, विभिन्न व्यवसाय गरी बसेका व्यवसायीहरुको उपचार, दुर्घटनामा परी घाईते तथा मृत्यु भएका परिवारले ब्यहोर्नुपर्ने झण्झटिलो प्रक्रियाको छिटो समाधानका उपाय र नेपालीहरुको स्वास्थ्य बीमाको प्रक्रिया बारेमा राजदूत शर्मासँग छलफल गर्नुभएको थियो । राजदूत डा. शर्माले दुई देशबीच गहिरो मित्रता रहेकाले भारत सरकारबाट नेपालीहरुको स्वास्थ्य उपचारमा आवश्यक सहयोग पाइरहेको र केही समस्या परेमा दूतावासमा सम्पर्क गर्नसमेत छलफलमा आग्रह गर्दै नेपाली व्यवसायीहरुको विभिन्न समस्या समाधानका लागि भारत सरकारसँग आवश्यक समन्वय गर्ने बताउनुभएको छ ।

छलफलमा नेता बानियाँसहित कांग्रेस बागमती प्रदेश कानूून तथा संसदीय मामिला विभाग प्रमूख सानुकान्छा श्रेष्ठ, राजदूतावासका सहसचिव सुरेन्द्र थापा, श्यामराज पाण्डे, अर्जुन धरेललगायत विरामीका आफन्त तथा व्यवसायीहरुको सहभागिता रहेको थियो । यसअघि नेता बानियाँले मंगलबार नयाँदिल्लीका विभिन्न अस्पतालमा उपचाररत नेपाली विरामी तथा आफन्तलाई भेटी उपचारमा परेका कठिनाईको बारेमा बुझ्दै समाधानका लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावाससँग छलफल तथा समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Exit mobile version