Home मुख्य समाचार पिक्चर अभि बाँकी है मेरे दोस्त…

पिक्चर अभि बाँकी है मेरे दोस्त…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थुनामा राखेको ८४ दिनमा कास्की जिल्ला अदालतले घरौटीमा छाड्न आदेश दियो । मिशन ८४ मा बहुमत ल्याउने लक्ष्य लिएको राजनीतिक दलको अध्यक्ष सहकारी ठगी प्रकरणमा ८४ दिनमा छुटे । यो ८४ संयोग नै हो तर अध्याय सिद्दिएको छैन । कास्कीपछि अब काठमाडौं जिल्ला अदालतले पनि रविलाई ६० लाख घरौटीमा रिहा गरेको छ । यसै बीच काठमाडौं जिल्ला अदालत परिसरमै रविको विरुद्ध बहस गर्ने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि हातपात भएको छ । यो आक्रमण रास्वपाका कार्यकर्ता र समर्थकहरुबाट भएको त्रिपाठीको भनाई रहेको छ ।

न्यायिक प्रक्रियामा यस किसिमको अराजक शैलीले लोकतन्त्रको हूर्मत लिने काम गरेको छ । बालकृष्ण खाँड, तोपबहादूरहरू पनि जेल गए । त्यहाँ भिड बोकेर कुनै राजनीतिक दल गएनन् । तसर्थ नीति, बिधि, पद्दतिको आदर्श फलाक्नेहरूले कानुनलाई आफ्नो काम गर्न दिनुपर्छ । न्याय सम्पादनलाई भिडले प्रभावित पार्न खोजियो भने त्यहाँ विधिको शासन रहँदैन त्यो अराजकतामा परिणत हुन्छ । रवि लामिछानेको मुद्दा अब पर्सा, चितवन लगायतका जिल्लामा यहि प्रकृतिका मुद्दाको फैसला हुन बाँकी छ । कास्की र काठमाडौं जिल्ला अदालतले बाहिर बसेर मुद्दा लड्न पाइने आदेश गर्यो । थुनामा पठाएन । कुरा यति हो । रास्वपा नेता, कार्यकर्ता रविले सफाई नै पाए जस्तो गरी उफ्रेको देख्दा उदेक लाग्यो ।

अहिले रविको काठमाडौं र कास्की जिल्ला अदालतबाट घरौटीमा रिहा भएपनि एकपटक कास्की अदालतको आदेश पढौं । रविको हरेक ईन्कारी बयानलाई अस्वीकार गरेको छ । रविको खातामा आएको पैसा, चेकको विषय सबैले रवि कसुरदार नरहेको मनासिव आधार देखिँदैन भन्छ त्यो आदेशले । कन्टेन्टमा त्यहि छ । अब बाँकी अदालतले यहि नजिर कायम गर्छ कि के गर्छ हेर्न बाँकी छ । त्यसैले रविको बारेमा अहिले धारणा नबनाई हालुम । किनभने पिक्चर अभि बाँकी है मेरो दोस्त ।

एउटा विषय चाहीँ स्पष्ट छ । यदि रवि छुटे वा निर्दोष सावित भए भने अब राजनीति विचारको होईन बदला र प्रतिशोधको हुन सक्छ । पाकिस्तानी मोडेलको राजनीति यात्रामा नेपाल क्रमशः प्रवेश गर्दैछ । जो सत्तामा हुन्छ उसले आफ्ना विरोधीलाई भष्ट्राचारको आरोपमा थुनामा पठाउने । भोलि रवि सत्तामा आए गिरिबन्धू ओम्नि यतिको सबै फाईल खुल्छ नै । अहिले नै एक अर्कोलाई दोषारोपण गर्ने क्रम चलेकै छ । सबै खाले गठबन्धनको असफलता पछि निर्माण भएको कांग्रेस एमालेको गठबन्धनको यात्रा पनि असफलताको बाटोमा छ ।

स्थायित्व र संविधान संशोधनको मुद्दा उठाएर गठन भएको वर्तमान सरकार संकटमा परिसकेको छ । यो सरकार पनि ढल्ने चर्चाले राजनीतिक वृत्त तरङ्गित छ । ७ बुँदे सम्झौताको जगमा खडा भएको कांग्रेस एमालेको सरकार प्रधानमन्त्रीले संविधान संशोधन ८७ सालमा गर्ने अभिव्यक्ति दिएपछि सरकारको जग हल्लिएको छ । सरकारको औचित्यमाथि कांग्रेसी कोणबाट प्रश्न उठाइएको छ । एकातिर संसद छलेर अध्यादेश ल्याउने अर्को तर्फ संविधान संशोधन ८७ मा गर्ने भनाईले आंशका उत्पन्न हुनु अस्वाभाविक होईन ।

नयाँ सरकार गठनपछि प्रधानमन्त्रीको पहिलो भ्रमण चीनको हुनु र बिआरआई सम्झौतामा नेपालको सहमतिपछि रुष्ट भारत यो गठबन्धन जसरी नै भत्काउने खेलमा छ । अझ केपि ओली प्रति त ठूलो असन्तोष देखिन्छ । कांग्रेसको भूमिका बिआरआईमा देखिएकै हो । भारतीय आशिर्वाद र उपनिर्वाचनले हौसिएको प्रचण्ड जसरी नै केपि ओलीलाई सरकारबाट बाहिर ल्याउन भरमग्दुर प्रयासमा हुनुहुन्छ । यस्तो अवस्थामा कांग्रेसको नेतृत्वमा बाँकी अवधि नयाँ सरकार बन्न सक्ने, नयाँ परिस्थिति निर्माण नहोला भन्न सकिन्न । तर जुन स्वरुपको सरकार निर्माण भएपनि त्यस्ले जनताको आंकाक्षा प्रतिबिम्बित गर्न सक्दैन । अब राजनीति एकले अर्कोलाई खुइल्याउने भन्दा अर्को देखिँदैन । नयाँ दलको नयाँ केहि छैन यि पनि सत्ता, शक्तिकै लोभी हुन् । यि अझ विवादित छन् भन्ने कुरा कांग्रेस एमालेले रविलाई सरकारमा ल्याएर अझ गृहमन्त्री बनाएर बिटुलो बनाई दिए ।

नयाँ दलप्रतिको आकर्षणलाई निस्तेज बनाउन अलिकति भएपनि सफल भए । मूलुकको आगामी राजनीति कसरी अघि बढ्छ अनुमान गर्न सहज छैन । ठूला दल सानालाई सिध्याउने खेलमा छ । यि देखिएका ठूला दलहरूले काम गर्न असमर्थ भए नयाँ शक्तिको आवश्यकता छ भन्ने तत्वबोध जनतालाई नभएको होईन तर कस्को नेतृत्व कस्ले गर्ने, राम्रा अघि सर्दैनन् नराम्रा हरेक दलमा छँदैछन् । कांग्रेसमा गगन आए नयाँ पूस्ताको उदय हुने यसले केहि भरोसा जगाएकै छ । कांग्रेस जति पनि भरोसा अन्य दलले प्रदर्शन गर्न सकेनन् । एमाले केपि ओलीसँगै सति जाने देखिन्छ । यो पार्टीमा केपि ओली नै सर्वेसर्वा देखिए त्यहाँभित्र न त आन्तरिक लोकतन्त्र, न असहमति र बिरोधको स्थान छ । तसर्थ यो पार्टीको आकर्षण खिइँदैछ । माओवादी पनि एमाले जस्तो नभएपनि प्रचण्डको विकल्प त्यहाँ पनि छैन । यस्तो पृष्ठभूमिमा नयाँ शक्ति वा ठूला पार्टी भित्रका नया अनुहार सहितको भिजनरी नेतृत्वको खोज आजको आवश्यकता हो । अबको चुनावी मतदातामा यूवापंक्ति निर्णायक छन् ।

ति ईतिहास हेरेर, जेल बसाई संघर्षपूर्ण जीवन आदि ईत्यादी हेरेर मतदान गर्दैन । तिन्नलाई डेलिभरी चाहिएको छ । तिनले सेवाप्रवाहमा प्रभावकारिता खोजिरहेका छन् । सुशासनयूक्त सरकार तिनका प्राथमिकता हुन् । यहि देशमा केहि गर्नुपर्छ भन्ने हुटहुटि बोकेका युवा पंक्ति पुराना थोत्रा कुरामा अब अडिदैनन् । तिनलाई आजको आशा र भोलिको सम्भावना जस्ले देखाउँछ ति त्यतै आकर्षित हुन्छन् । मूलुकको अवस्था अत्यन्तै तरल छ । संविधान माथि पनि प्रश्न उठेको छ । व्यवस्थाप्रति पनि वितृष्णा चूलिँदैछ । जनता आर्थिक अभावको चपेटामा छन् । देशमा रोजगार छैन । सुशासन छैन । हरेक राजनीतिक दल भष्टाचारको आहालमा डुबेका छन् । प्रचण्ड भष्ट्राचारको फाईल खोल्ने भएपछि मेरो नेतृत्वको सरकार हटाइएको भन्नुहुन्छ । तर क्यान्टोनमेन्टको भष्ट्राचार के हो, शेरादरबारको जग्गा बिबाद के हो..अनूत्तरित प्रश्न थुप्रै छन् ।

ठूला भनिएका सबै कुनै न कुनै प्रकारको भष्ट्राचारमा जोडिएका छन् । सरकारले भर्खर भूमि सम्बन्धी अध्यादेश ल्यायो । वनक्षेत्रमा र निकुञ्जमा पर्ने जग्गामा लामो समयदेखि बसोबास गरिरहेका भूमिहिन सुकुम्बासीलाई लालपूर्जा दिने उद्देश्यले यो कानुन ल्याएको देखिन्छ । यसले भोलिका दिनमा सार्वजनिक जग्गामा बसोबास गर्ने खोला किनारमा ओगटेर बस्ने आफ्ना कार्यकर्तालाई लालपूर्जा दिने बदनियत लुकेको त छैन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले यो अध्यादेशको चर्को विरोध गरेका छन् । आफू अनुकुल हुने, पार्टी फुटाउन सहयोग पुग्ने खालको विगतमा अध्यादेश ल्याएर दल विभाजन गरेकै हो । संसदमै छलफल गरेर कानुन बनाउने संसदीय अभ्यास विपरित अध्यादेशबाट ल्याइने कानुनको अभिष्ट माथि आशंका उत्पन्न हुनु अस्वाभाविक होइन । विकृति, विसंगति, भष्ट्राचार, कुशासनले नेपाली समाज थला परेको छ ।

जनताको मुक्ती र परिवर्तनको नाममा ३५ वर्षदेखि जनतामाथि नै शोषण जारी छ । बहुदलीय प्रजातन्त्र आएको पनि ३५ वर्ष भयो । परिवर्तनको नाममा एकातिर युवाहरू बिदेशिन बाध्य भएका छन् । अर्कोतर्फ सरकार छ भन्ने अनूभुति जनतालाई कहिल्यै भएन । अब यहि यथास्थितिमा मूलुक रहन सक्दैन । ठूला दलको विकल्प खोज्छन् नै जनताले शेरबहादुर केपि प्रचण्ड ८४ को चुनावबाट ग्रेस फुल्ली एकजिड हुनुपर्छ । हरेक दलको नयाँ पुस्ता आउन जरूरी छ । हजुरवुवा पुस्ताले आराम लिन जरूरी छ । होईन भने यो व्यवस्था फेर्ने आन्दोलन आवश्यक छ । सधैभरि बुढाहरूले स्वेच्छाचारिता लादेर देशलाई तन्नम बनाउने यो गलत यात्रा अब रोकिन्छ, रोक्नुपर्छ नै ।

शासकीय स्वरुप परिवर्तन गर्नुपर्छ । सानो संसद बनाउने, सांसद मन्त्रि हुन नपाउने, संघीयता खारेज गर्ने, जनताबाट प्रधानमन्त्री चयन गर्ने, प्रशासनिक खर्च घटाउने, पुँजिगत खर्च गर्न सक्ने सामथ्र्य तयार पार्ने,यो परिवर्तनसहित अगाडि बढौं । होइन यि संशोधन साथ अघि नबढ्ने हो भने यहि चक्रमा रुमल्लिरहने हो भने देश बर्वादि बाटोमा जान्छ । व्यवस्था परिवर्तनको विकल्प बाहेक केहि रहँदैन । धर्म निरपेक्ष संघीय गणतन्त्र राज्य व्यवस्थाको अभ्यासले सकारात्मक परिणाम दिएन । भ्रष्टहरूले लुटिखाने व्यवस्था बनाए । तसर्थ मत परिवर्तन जरुरी छ । यि सब पृष्ठभूमिमा ठुला दलको अवस्था के रहला, उपनिर्वाचनमा यहि वरिपरि नै जनता छ भन्ने विश्लेषण गर्न सकिएला तर चूलिँदो जनआक्रोश हेर्दा ठूलो बिद्रोहको आधारभूमि तयार हुँदैछ भन्ने भान हुन्छ । नयाँ शक्ति पार्टीहरुको उदयले जनता त्यतातीर लाग्छन् कि..वा बालेन पार्टिकौ रुपमा सशक्त देखिन्छ ।

पिक्चर धुमिल छ । राजनीति तरल छ । जनता ईतिहासका निर्माता हुन् । कसैले आफूलाई शक्तिशाली नठाने हुन्छ । अंहकार र दम्भ निमेषभर सिद्दिन सक्छ । तसर्थ जनताको नयाँ मतलाई कुरौं । नयाँ जनादेश यो यथास्थितिमा पक्कै रहँदैन । देशले परिवर्तन खोजेको छ । तर कस्तो..? पिक्चर अभि बाँकी है मेरे दोस्त… । धैर्य गरौं । अस्तू..

Exit mobile version