Home मुख्य समाचार विपद् प्रभावित सडक पुननिर्माण गर्न १५ करोड २५ लाख बजेट दिने निर्णय

विपद् प्रभावित सडक पुननिर्माण गर्न १५ करोड २५ लाख बजेट दिने निर्णय

मन्त्री परिषद् बैठकमा सहभागी मुख्यमन्त्री, मन्त्रीहरु ।

हेटौँडा ः बागमती प्रदेश सरकारले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनःनिर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको शुक्रबार बिहान बसेको बैठकले विपद् प्रभावित प्रादेशिक सडक तथा पूर्वाधार निर्माणका लागि १५ करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

विपद् प्रभावित हेटौँडा–काठमाडौं सडकका लागि ११ करोड २५ लाख रुपैयाँ र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले कुलेखानी–सिस्नेरी सडक मर्मतका लागि ५० लाख रुपैयाँ, कुलेखानी–महालक्ष्मी खोला–फाखेल खण्ड मर्मतका लागि २५ लाख रुपैयाँ बजेट व्यवस्था गर्ने भएको छ भने सिमखोलमा बेलिब्रिज राख्न २ करोड रुपैयाँ, सिस्नेरी खण्डको सडक पुनः निर्माणका लागि ६ करोड रुपैयाँ र सिस्नेरी–छैमले खण्डको सडक पुनःनिर्माणका लागि २ करोड ५० लाख रुपैयाँ व्यवस्था गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताउनुभयो ।

बैठकले उक्त बजेट आर्थिक मामिला तथा योजना मन्त्रालयको अर्थ विविध र विषयगत मन्त्रालयको बजेटबाट व्यवस्था गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रस्ताव गरे अनुसारको बजेट व्यवस्था गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले संघीय सरकारबाट सरुवा भएर आउनुभएका सचिव वीरेन्द्र देव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश सरकारले ११ औं तहमा बढुवा गरेका निरन्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय गरेको छ ।

Exit mobile version