Home मुख्य समाचार लायन्सद्वारा १२०० भिटिएम किट हस्तान्तरण

लायन्सद्वारा १२०० भिटिएम किट हस्तान्तरण

हेटौंडाः अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था लायन्स क्लब इन्टरनेशनलले उपलब्ध गराएको एक हजार दुई सय थान भिटिएम हेटौंडास्थित कोरोना परीक्षण प्रयोगशालालाई हस्तान्तरण गरिएको छ । लायन्स क्लब इन्टरनेशनले देशभर २९ हजार छ सय थान भिटिएम हस्तान्तरण गरेको लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का गभर्नर शम्भु नकर्मीले जानकारी दिनुभयो ।

लायन्स क्लबले सोमबार एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशाला किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रलाई भिटिएम किट हस्तान्तरण गरेको हो । कोरोना भाइरसको परीक्षणको लागि स्वाब संकलन गरी राख्नका लागि भिटिएम किट उपलब्ध गराएको हो । मकवानपुर जिल्ला र अन्य जिल्लाबाट पनि स्वाब परिक्षणका लागि ल्याइने गरिएकोले किटको अभाव हुन नदिन क्लबले किट उपलब्ध गराएकोमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले धन्यवाद व्यक्त गर्नुभएको छ ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ को एरिया चिफ अंकिता सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर राना, लायन्स तथा लियो क्लबका पदाधिकारीको उपस्थिति रहेको थियो ।

Exit mobile version