Home खेलकुद युवा तथा खेलकुद क्षेत्रमा पर्याप्त स्रोत छैनः मन्त्री महर्जन

युवा तथा खेलकुद क्षेत्रमा पर्याप्त स्रोत छैनः मन्त्री महर्जन

कार्यक्रममा बोेल्नुहुँदै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन

हेटौंडाः बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले स्रोत साधनको अभावका बिच युवा तथा खेलकुद क्षेत्रको योजनाहरु सञ्चालन गर्नुपरेको गुनासो गर्नुभएको छ । मन्त्रालयको बजेट न्यून रहेकाले युवा तथा खेलकुद क्षेत्रमा पर्याप्त मात्रामा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाउन नसकेको उहाँले बताउनुभएको हो ।

युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बजेटको सिमितताका कारण अपेक्षाकृत उपलब्धी प्राप्त गर्न कठिन भएको बताउनुभयो । आफू मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र सो बजेट निकै न्यून भएका कारण काम गर्न कठिनाई भइरहेको उहाँको भनाइ छ ।

‘मैले चाहेको भए अन्य विकासे मन्त्रालय पनि लिन सक्थेँ । तर, म खेल क्षेत्रबाट आएको मानिस युवा र खेलाडीको भावना बुझ्न सक्छु । खेलकुद मन्त्रालय कसरी चलाउने भन्ने विषयमा मलाई राम्रो ज्ञान छ’, मन्त्री महर्जनले भन्नुभयो– ‘तर, म मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको थियो, जुन अत्यन्तै न्यून छ । त्यसकारण सोचे अनुसारको काम गर्न सकिएको छैन ।’ उहाँले बजेट वृद्धि गर्न प्रदेश सरकारसँग नियमित रुपमा पहल भइरहेको बताउनुभयो ।

मन्त्रालय मातहतका कार्यालयले सञ्चालन गर्दै आइरहेको आयोजनाहरुलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धतासमेत मन्त्री महर्जनले व्यक्त गर्नुभयो । उहाँले कार्यालय प्रमुखहरुलाई उच्च मनोबलसहित काम गर्न निर्देशनसमेत दिनुभयो । देखिने, सुनिने र नागरिकले अनुभूत गर्ने गरी उत्प्रेरित भएर काम गर्न तथा आगामी दिनमा मन्त्रालयको वार्षिक कार्ययोजना बमोजिम नतिजा हासिल गर्नेतर्फ अग्रसर हुन उहाँले निर्देशन दिनुभएको हो । मन्त्री महर्जनले प्रभावकारीरुपमा कार्यसम्पादन गर्न तथा उपयुक्त ढंगका योजनाहरु तयार गर्न निर्देशन दिनुभयो ।

बैठकमा प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाले खेलकुद क्षेत्रको विकास एवम् विस्तारका लागि परिषद्बाट छोटो समयमा उल्लेख्य प्रयास भएको बताउनुभयो । उहाँले राज्यले खेलकुदको विषय पाठ्यक्रममा नै समावेश गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले परिषद्बाट सञ्चालन भइरहेका युवा लक्षित कार्यक्रमबारे जानकारी गराउनुभयो । तथ्यांक व्यवस्थापन नहुँदा तालिम कार्यक्रम सञ्चालन गर्न केही कठिनाई भएको भन्दै त्यसतर्फ सरकारले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सामाजिक विकास कार्यालय काभ्रेपलाञ्चोक, ललितपुर र मकवानपुरका कार्यालय प्रमुखहरुले सञ्चालित आयोजनाको भौतिक एवम् वित्तीय प्रगतिबारे जानकारी गराएका थिए । उनीहरुले मन्त्रालय र अन्तर्गतका निकायहरुको त्रैमासिक प्रगतिका साथै आयोजनाहरुकोे वित्तीय एवम् भौतिक प्रगतिको अवस्था, कार्यान्वयनमा आइपरेका समस्या तथा चुनौती र समाधानका लागि गरिएका प्रयासहरुबारे प्रस्तुतिकरण गरेका थिए ।

Exit mobile version