Home मुख्य समाचार स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति छैनः मन्त्री थापा

स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति छैनः मन्त्री थापा

कार्यक्रममा बोल्नु हुँदै बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा

हेटौंडाः बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति नभएको बताउनुभएको छ । सोमबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालद्वारा आयोजित १ वर्षे एनेस्थेसिया टेक्निसियन तालिमको प्रमाणपत्र वितरण तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री थापाले दक्ष जनशक्ति बिना उपकरण खरिद गरी थन्काएको भन्दै अख्तियारमा उजुरी पर्ने गरेको बताउनुभयो ।

यस्तै एक सय १९ पालिकामा आधारभूत अस्पताल बनिरहेको जानकारी दिनुहुँदै कतिपय पालिकामा दक्ष जनशक्ति नहुँदा ती अस्पतालहरु व्यवस्थित रुपमा संचालन हुन नसकेको उहाँले बताउनुभयो । ७ प्रदेशमध्ये बागमती प्रदेशकै प्रादेशिक अस्पताल उत्कृष्ट रहेकाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत शिक्षण संस्थान सुरु गर्न प्रदेश सरकारले पहल गरिरहेको जानकारी दिनुभयो । जुन प्रदेश सरकारको गौरवको आयोजना भएकाले व्यवस्थित रुपमा संचालन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

प्रदेश सरकारले स्वास्थ्य ऐन पास गरिसकेको छ । बागमती प्रदेशमा १३ वटा प्रादेशिक अस्पताल छन् । अन्य प्रादेशिक अस्पताललाई पनि २ सयदेखि ३ सय बेडका स्तरोन्नति गरी त्यहाँ पनि एकेडेमी सुरु गर्ने तयारी मन्त्रालयको रहेको मन्त्री थापाले जानकारी दिनुभयो । ६१ लाख भन्दा बढी जनसंख्या रहेको बागमती प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्न सके मात्र प्रदेश हुँदै स्थानीय तहसम्म सर्वसुलभ सेवा सुविधा दिन सकिने उहाँको भनाई छ । छात्रवृत्तिमा पढेर उत्तीर्ण भएकाहरुले सहरकेन्द्रीत नभई दूरदराजसम्म सेवा तथा काम गर्न सक्नु पर्ने उहाँको धारणा थियो । विभिन्न बहाना बनाएर मन्त्रालयले तोकिदिएको स्थानमा काम गर्न नजाने अवस्थाप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

मन्त्रालयले तालिमलाई व्यवस्थित गर्न बजेट व्यवस्था गर्ने र नीति तथा कार्यक्रम संशोधन गरी समस्या समाधान गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा प्रतिष्ठानले पहिलो ब्याचका प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै बिदाई गरेको छ भने दोस्रो ब्याचलाई स्वागत गरेको छ । तालिममा ९ जना सहभागी थिए । विदाई कार्यक्रममा सन्तोष कुमार माझी, सुरेश मोक्तान, मेरि तामाङ र सञ्चिता कुँवर उपस्थित हुनुहुन्थ्यो । बागमती प्रदेश सरकारमातहतको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्र कुमार झा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. प्रदीप ज्ञवाली लगायतको कार्यक्रममा उपस्थिति थियो ।

Exit mobile version