Home खेलकुद मेयर कप सितोरियो कराँते प्रतियोगिता सुरु

मेयर कप सितोरियो कराँते प्रतियोगिता सुरु

हेटौंडाः मकवानपुर जिल्ला सितोरियो कराँते संघको आयोजनामा प्रथम संस्करणको जिल्लास्तरीय मेयर कप कराँते प्रतियागिता सुरु भएको छ । हेटौंडा–४, पारिजातपथस्थित बुहुउद्देश्यीय कभर्ड हलमा सुरु भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्य तथा कराँते संघ मकवानपुरका अध्यक्ष दीपक लामाको सभाध्यक्षमा प्रतियोगिताको उद्घाटन भएको छ ।

नगर प्रमुख मीना कुमारी लामाले हेटौँडा उपमहानगरपालिकालाई खेलकदुमय बनाउने कार्यमा सबै स्थानीय वासिन्दाहरु लाग्नुपर्ने बताउनुभएको छ । मकवानपुरमा कराँते खेलको विकास गर्नका जिल्लास्तरीय मेयर कप कराँते प्रतियोगिताको आयोजना गरेर सितोरियो कराँते संघले खेलाडीहरुको आत्मबललाई बढाउने काम गरेको नगर प्रमुख लामाले बताउनुभयो । चालु आर्थिक वर्षमा हेटौँडामा बजेट विनियोजन भएसँगै खेलकुदलाई प्राथमिकतामा राखेको उहाँले प्रष्ट पार्नुभयो ।

हेटौँडा उपमहानगरको मुख्य सहयोगको कारणले प्रतियागिताको आयोजना गर्न सफल भएको संघका अध्यक्ष दीपक लामाले बताउनुभएको छ । प्रतियोगिताका लागि मधेश प्रदेश तथा चितवन जिल्लाबाट आएका ३० जना रेफ्रिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

शुक्रबार भएको खेलमा महिलातर्फ २५ केजीतौल समूहबाट किड्स डोजाङकी श्रीयसी पाठक प्रथम र मेन डोजोका कृतज्ञ पाठक द्वितीय भएका छन् । ३० केजी तौल समूहबाट किड्स डोजोकी सुष्मा मैनाली प्रथम र राईगाउँको दीपशिखा राई द्वितीय भएकी छिन् । ३५ केजी तौल समूहबाट मयुरधाप डोजोका एन्जल अधिकारी प्रथम र मेन डोजोकी श्रीष्मा श्रेष्ठ द्वितीय भएकी छिन् । ४० केजी तौल समूहबाट मेनडोजोकी सुष्मा चौलागाईं प्रथम र मयूरधाप डाजोकी मनिता श्रेष्ठ द्वितीय, ४५ केजीबाट किड्स डोजोकी रमिला मोक्तान प्रथम, ५० केजीबाट मेनडोजोकी श्रीया श्रेष्ठ प्रथम र किड्स डोजाङकी पासाङ डोल्मा मोक्तान द्वितीय तथा ५५ केजीबाट मेनडोजोकी आकृति पुलामी प्रथम र मयूरधापकी सदिस भेटवाट द्वितीय भएकी छिन् ।

पुरुषतर्फ कुमुते विधामा २५ देखि ६७ केजी तौल समूहका र महिलातर्फ २५ देखि ६० केजी तौल समूहका खेलाडीहरुको सहभागितामा सञ्चालन भएको प्रतियोगितामा महिला पुरुषको एकल काता विधामा प्रतिस्पर्धा भइरहेको छ । राइगाउँ, लेवट, नवलपुर, चौघडा, मयुरधाप र मेनडेजोका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताका लागि हेटौंडा–४ स्थित बुद्ध स्नुकर हाउस र हेटौंडा–१० स्थित एस–वान स्नुकर क्लब प्रायोजकको रुपमा रहेको छ । प्रतियोगितामा १ सय २० जना खेलाडी सहभागी छन् ।

प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिता अवधीभरको एक÷एक जना सर्वोकृष्ट महिला र पुरुष खेलाडीलाई ट्रफि र नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको उद्घाटन समारोहमा वडाध्यक्षहरुको पनि आतिथ्य रहेको थियो । उद्घाटन समारोहमा बागमती प्रदेश खेलकुद विकास परिषद्का बोर्ड सदस्य संगीत श्रेष्ठ, प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरी, रेफ्रि संयोजक विष्णुभक्त लामा, कार्यक्रम संयोजक पूर्णभक्त लामा, सितोरियो कराँते संघ नगरका अध्यक्ष अनिल काफ्ले, मकवानपुर जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष वेश खड्की, मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष लालकाजी रत्न बज्राचार्यको आतिथ्य रहेको थियो ।

Exit mobile version