Home मुख्य समाचार समृद्ध समाज दैनिकको वार्षिकोत्सवमा विविध कार्यक्रमको आयोजना गरिँदै

समृद्ध समाज दैनिकको वार्षिकोत्सवमा विविध कार्यक्रमको आयोजना गरिँदै

हेटौँडाः हेटौँडाबाट प्रकाशन हुँदै आएको समृद्ध समाज राष्ट्रिय दैनिकले पन्ध्रौं वार्षिकोत्सवको अवसरमा मिडियासम्बन्धमा बहस, माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्ने भएको छ । वार्षिकोत्सवको अवसरमा मकवानपुरको छापा पत्रकारिताको आयामका विषयमा बहस सञ्चालन गरिने सम्पादक सुरेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

आगामी मंसिर १ गते हेटौँडामा हुने कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, अग्रज पत्रकार राममणि दाहाल, युवा पत्रकार सुनिता विष्टसँग बहस हुनेछ । बहसको सहजीकरण छवि अनित्यले गर्नुहुनेछ । आधुनिक सूचना प्रविधिको युगमा छापा पत्रकारिताको उपादेयता, प्रयोग, चुनौति र सम्भावनाका विषयमा रहेर बहस गरिने बताइएको छ । यस्तै ‘सामाजिक चेतनाका लागि समाचारपत्र’ शीर्षकमा माध्यमिक विद्यालय तहमा अध्ययनरत विद्यार्थीबीच निबन्ध लेखन प्रतियोगिताको आयोजना गरिएको सम्पादक श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ पुस्ताका रुपमा रहने माध्यमिक तहका विद्यार्थीबीच समाचारपत्रको औचित्य, महत्व र यसका विविध आयामका विषयमा सचेतना अभिवृद्धि हुने अपेक्षासहित निबन्ध प्रतियोगिताको आयोजना गरिएको उहाँको भनाइ छ । संस्थागत र सामुदायिक गरी दुबै विद्यालयबाट ५० भन्दा बढी विद्यार्थी सहभागी हुने सम्पादक श्रेष्ठले बताउनुभयो । निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।

वार्षिकोत्सवको अवसरमा समृद्ध समाज राष्ट्रिय दैनिकले पूर्व सहकर्मीलाई प्रशंसापत्र प्रदान गर्नुका साथै नवप्रवेशीलाई स्वागत बताइएको छ । यस्तै पठन संस्कृतिको विकासका लागि पनि आवश्यक कार्य गरिने सम्पादक श्रेष्ठले जानकारी दिनुभएको छ ।

Exit mobile version