Home मुख्य समाचार मुख्यमन्त्री लामाको ‘हनिमुन पिरियड’ः बलियो सरकारको कमजोर भूमिका

मुख्यमन्त्री लामाको ‘हनिमुन पिरियड’ः बलियो सरकारको कमजोर भूमिका

हेटौंडाः संघमा सत्ता समीकरण परिवर्तनपछि बागमती प्रदेशमा पनि सोही अनुसार सरकार गठन भयो । २०८१ साउन ९ मा पहिलो पटक कांग्रेसले बागमती सरकारको नेतृत्व लिएको थियो । कांग्रेसबाट प्रदेश सरकारको नेतृत्व संसदीय दलको नेता बहादुर सिंह लामाले गरेका छन् ।

कांग्रेस एमालेको गठबन्धनबाट गठित मुख्यमन्त्री लामा नेतृत्वको उक्त सरकारले १०० दिन पूरा गरेको छ । यस अवधिको मूल्यांकन गर्दा अंकगणितीय रुपमा मुख्यमन्त्री लामा नेतृत्वको सरकार बलियो छ । तर, व्यवस्थापकीय भूमिकामा भने कमजोर देखिएको छ । अंकगणित अनुसार प्रदेशसभाको २ ठूला दलले सरकार गठन गरेका छन् । कुल ११० सिटको प्रदेशसभामा ३७ सिट रहेको कांग्रेस र २७ सिट रहेको एमालेले मिलेर ६४ सिटसहित सरकार गठन गरेका थिए ।

साउन १५ मा संसदबाट विश्वासको मत लिएर ६४ सांसदको समर्थनसहित सरकार सुरक्षित गरेका मुख्यमन्त्री लामा नेतृत्वको सरकारको कमाण्ड निकै कमजोर देखिएको हो । १०० दिनमा मुस्किलले ५ वटा क्याबिनेट बैठक बसेर सामान्य निर्णयबाहेक अन्य कुनै पनि विषयहरु सरकारको प्राथमिकतामा परेको देखिँदैन ।

प्रदेश सरकार नियमित कामबाहेक अन्य ठोस योजनामा अघि बढ्न सकेको देखिँदैन । नियमति प्रक्रियामा हुने बैठक तथा कार्यक्रम र बजेट कार्यक्रम कार्यान्वयन नै प्रदेश सरकारको प्रगतिको रुपमा देखिएको छ । संघीयता, प्रदेश सरकारको औचित्य, उत्पादन तथा उत्पादकत्व वृद्धि, आर्थिक सामाजिक रुपान्तरण र समृद्धिका सवालमा सरकारको भूमिका खासै देखिएको छैन । प्रदेशको रुपान्तरकारी आयोजना छनौट तथा कार्यान्वयन, कर्मचारी व्यवस्थापनमा सरकारले ठोस निर्णय गर्न सकेको छैन ।

मन्त्री व्यवस्थापन मुख्यमन्त्रीलाई घाँडो
सरकारको नेतृत्व लिएको १०० दिन बढी भइसक्दा समेत मुख्यमन्त्री लामाले मन्त्री व्यवस्थापन गर्न सकेका छैनन् । मुख्यमन्त्री लामालाई प्रदेशको एक बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोक्नु घाँडोजस्तै बनेको छ । साउन ९ र १२ मा गरी सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामाले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका थिए ।

एमालेबाट ६ र कांग्रेसबाट आफूबाहेक ७ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री लामाले जिम्मेवारीविहिन रहेका मदुकुमार श्रेष्ठको विभागीय जिम्मेवारी तोक्न कठिन देखिएको छ । एकातर्फ कांग्रेसभित्रको आन्तरिक द्वन्द्व र अर्कोतर्फ साझेदार दलबिचको शक्ति सन्तुलनले मुख्यमन्त्री लामालाई मन्त्री व्यवस्थापन समस्या बनेको हो । मन्त्रालयको संख्या बढाउन साझेदार दल तयार नहुँदा मुख्यमन्त्री लामा बिनाविभागीय मन्त्री बोकेर हिँड्न बाध्य छन् ।

विपद् प्रतिकार्यमा कमजोर व्यवस्थापन
सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणमा समेत आफ्नो भूमिका देखाउन नसकेको भन्दै आलोचना बढ्दो छ । गत असोज १० देखि १२ गतेसम्मको वर्षाका कारण निम्तिएको विपत्तिले बागमती प्रदेशलाई क्षतविक्षत बनाएको छ । वर्षाका कारण आएको बाढी पहिरोले जनधनको ठूलो क्षति हुनुको साथै सडक पूर्वाधारहरु नै बगाएर बगरमा परिणत गरिदिएको छ । विपद्को समयमा सरकारको भूमिका न उद्दारमा देखियो, न प्रतिकार्यमा नै ।

सो अवधिमा विपद् पूर्वसूचना प्रवाह सरकारको पहुँचभन्दा निकै टाढा रहेको देखियो । विपद्पश्चात् सरकारले राहत वितरणमा समेत प्रभावकारी काम गर्न सकेको देखिँदैन । त्यसो त प्रदेश सरकारसँग पर्याप्त स्रोत साधन नभएको र आनुमानभन्दा ठूलो विपत्ति आएकाले सरकारले गरेका न्यूनीकरणको पहल कमजोर देखिएको सरकारका मन्त्रीहरु बताउँछन् । प्रदेश सरकारका एक मन्त्रीका अनुुसार विपद्जन्य घटनामा उद्दार सामग्री र जनशक्तिको अभावले सरकारको भूमिका कमजोर हुन पुगेको हो ।

नियुक्तिमा व्यस्त सरकार
बागमती प्रदेश सरकारले १०० दिनको अवधिमा विभिन्न संरचनाहरुमा नियुक्ति वितरणमा व्यस्त देखिएको छ । प्रदेश सरकारले सो अवधिमा मुख्य न्यायाधीवक्ता, प्रदेश नीति तथा योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेश खेलकुद विकास परिषद्, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न पदमा नियुक्ति वितरण गरेको छ ।

प्रदेश सरकारले गत भदौ २ गते नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम दोलखा तामाकोशी गाउँपालिका–३ का शुुकदेव काफ्लेलाई मुख्य न्यायाधीवक्ता नियुक्त गरेको थियो । गत भदौ १६ मा प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षसहित २ सदस्य नियुक्त गरेको थियो । आयोगको उपाध्यक्षमा सिन्धुपाल्चोक हेलम्बुका डा. गंगादत्त नेपाल र सदस्यहरुमा काठमाडौंका दीपेन्द्र श्रेष्ठ तथा काभ्रेका गुणराज मोक्तान नियुक्त भएका थिए । आयोगको उपाध्यक्ष नेपाल र सदस्य मोक्तान कांग्रेस निकट हुन् भने सदस्य श्रेष्ठ एमाले निकट हुन् ।

प्रदेश सरकारले गत भदौ २६ मा प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरेको थियो । कांग्रेस निकट लामालाई मुख्यमन्त्री लामाकै जोडबलमा परिषद्को सदस्यसचिव नियुक्त गरिएको थियो ।

गत असोज १६ मा बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिमा डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको थियो । पद रिक्त रहेको २ महिनापछि एमालेको कोटामा डा. ज्ञवालीलाई उपकूलपति नियुक्त गरिएको हो । त्यस्तै असोज १८ मा एमालेको कोटाबाट प्रतिष्ठानको संयोजकमा चिरञ्जीवी चुडाललाई नियुक्त गरिएको थियो । असोज १८ मा नै कांग्रेसको कोटामा प्रतिष्ठानको रजिष्ट्रारमा भीमसागर गुरागाईंलाई नियुक्त गरिएको थियो । प्रदेश सरकारले असोज १ मा बागमती विश्वविद्यालयको उपाध्यक्ष पदमा कुशुमराज सुवेदीलाई नियुक्त गरेको थियो । कांग्रेसको कोटामा उनलाई विश्वविद्यालयको उपाध्यक्षमा नियुक्त गरिएको थियो ।

त्यस्तै, प्रदेश सरकारले प्रदेश लोकसेवा आयोगको अध्यक्षमा कांग्रेस निकट महेश्वर श्रेष्ठलाई नियुक्त गरेको छ । गत १ कात्तिकमा ११ औं तहको सहसचिवको रुपमा सरकारी सेवाबाट अवकाश लिएका श्रेष्ठलाई कात्तिक ४ मा आयोगको अध्यक्ष बनाइएको थियो ।

बजेटको विवाद कायमै
आर्थिक वर्षको पहिलो चौमासिक पूरा हुने चरणमा समेत बजेटमाथिको विवाद समाधान हुन सकेको छैन । गत असारमा बजेट सार्वजनिक हुँदादेखि सुरु भएको विवाद हालसम्म कायमै रहेको छ ।
बजेट सार्वजनिक हुँदा प्रमुख प्रतिपक्षमा रहेको दल कांग्रेस अहिले सरकारमा छ भने बजेट ल्याउने दल प्रतिपक्षमा रहेको छ । बजेट निर्माणको चरणमा कांग्रेसले विरोध जनाएको थियो भने हाल बजेट कार्यान्वयनको चरणमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले विरोध गर्दै आएको छ ।

तत्कालीन समयमा कांग्रेसले बजेट असन्तुलित र वितरणमुखी भएको भन्दै विरोध गरेको थियो । विरोधपछि सरकारले कांग्रेससँग बजेटलाई सन्तुलित बनाउन सहमतिसमेत गरेको थियो । सो लगत्तै सरकार परिवर्तनपछि सत्ताको बागडोर कांग्रेसले लिएको छ । कांग्रेसले सत्ताको चावी लिएको एक महिनामा नै बजेटमाथिको विवाद पुनः बल्झियो । जसले गर्दा गत असोजमा आह्वान गरिएको प्रदेशसभासमेत प्रभावित बन्यो । अन्ततः पुनः माओवादी केन्द्रसँग सत्ताधारी दलहरुले सहमति गरेपछि भने संसदको अवरोध हटेको थियो । प्रतिपक्षको मागअनुसार बजेटमा योजना समावेश गर्ने सहमतिपछि भने संसद सञ्चालन भएको थियो ।

Exit mobile version