हेटौंडाः चितवन जिल्लाको राप्ती नगरपालिका–१ मा भएको प्रथम संस्करणको पिप्ले हासु कप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरको मनहरी गाउँपालिकाको एफसी सिम्पानीले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा राप्ती नगरपालिकाको जागृति युवा क्लबलाई २–० गोलले हराउँदै एफसी सिम्पानीले उपाधि जितेको हो ।
उपाधि जितेसँगै सिम्पानीको टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण प्राप्त गरेको छ । उपविजेता बनेको जागृति युवा क्लबले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
सिम्पानीको जीतमा राहुल थापा मगरले २ गोल गरेका थिए । उनले पहिलो हाफको १५ औँ मिनेटमा र दोस्रो हाफको १७ औँ मिनेटमा समान एक–एक गोल गरेका हुन् । गोलकर्ता थापा म्यान अफ द म्याच भए । प्रतियोगिता हाईस्कोरर पनि थापा नै घोषित भएका हु्न् ।
राप्ती नगरपालिकाको पिप्ले युवा समाजको आयोजना तथा हासु एजुकेशनल कन्सल्टेन्सी प्रालिको सहयोगमा प्रतियोगिता भएको हो । बिहीबार भएको सेमिफाइनल खेलमा मनहरी गाउँपालिकाकै सयपत्री युवा क्लबलाई २–० गोलले हराउँदै सिम्पानीले फाइनलको यात्रा तय गरेको सिम्पानीका खेलाडी प्रकाश तामाङले जानकारी दिनुभयो । जागृति युवा क्लबले राप्ती नगरपालिकाकै मनकामना युवा समाजलाई १–० गोलले हराउँदै फाइनलको यात्रा पूरा गरेको थियो ।
असोज ५ गतेबाट सुरु भएर २० गते सम्पन्न भएको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । राप्ती नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सिद्धिलाल स्याङ्तानको प्रमुख आतिथ्यमा पुरस्कार वितरण समारोह भएको थियो ।
