Home मुख्य समाचार ऐन संशोधन नगरी प्रतिष्ठानको उपकुलपति नियुक्त

ऐन संशोधन नगरी प्रतिष्ठानको उपकुलपति नियुक्त

प्रा.डा. प्रदीप ज्ञवालीलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरिएको पत्र हस्तान्तरण गर्नुहुँदै मुख्यमन्त्री बहादुर सिंह लामा।

हेटौँडाः प्रदेश सरकारले ऐन संशोधन नै नगरी मन्त्रालय खडा गरेको ३ वर्षपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ । असोज १६ गते बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको उपकुलपतिमा प्रा.डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकले उपकुलपति नियुक्तिमा समस्या हुने भएपछि विभागीय मन्त्रीको सहमति लिएर उपकुलपति नियुक्त गरेको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ समयानुकल संशोधन हुँदा प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि सामाजिक विकास मन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको सिफारिसमा स्वास्थ्य मन्त्रीको सहमति गराइएको थियो ।

ऐनले प्रतिष्ठानको सहकुलपति विभागीय मन्त्री हुने व्यवस्था गरेको छ । जसमा विभागीय मन्त्रालय भनेर सामाजिक विकास मन्त्रालय कायम गरिएको छ । प्रतिष्ठानको ऐनले स्वास्थ्य मन्त्री नै चिन्ने अवस्था छैन । ऐन अनुसार प्रतिष्ठानको हरेक अवस्थामा सामाजिक विकास मन्त्री नै जिम्मेवर रहने व्यवस्था गरेको छ । प्रतिष्ठानको ऐन अनुसार प्रतिष्ठानको कुलपति प्रदेशको मुख्यमन्त्री हुने व्यवस्था छ भने ऐनको दफा १७ मा उपकुलपतिको व्यवस्था गरेको छ । ऐन अनुसार प्रतिष्ठानको उपकुलपति सामाजिक विकास मन्त्री हुने भनिएको छ । ऐनको दफा १८ मा उपकुलपतिको व्यवस्था रहेको छ । उपकुलपति प्रमुख कार्यकारी रहने भनिएको छ । दफा १८ को (२) मा उपकुलपतिको नियुक्तिका लागि कुलपतिले सहकुलपतिको अध्यक्षमा थप २ सदस्य रहनेगरी सिफारिस समितिको गठन गर्ने व्यवस्था रहेको छ । दफा १८ (३) मा सहकुलपतिको अध्यक्षमा रहेको समितिले ३ जनाको नाम सिफारिस गरे अनुसार उपकुलपति नियुक्त हुने कानुनी व्यवस्था रहेको छ ।

प्रतिष्ठानको ऐनको दफा २० (१) मा रजिष्ट्रारको व्यवस्था गरिएको छ । रजिष्ट्रार प्रतिष्ठानको आर्थिक, प्रशासनिक प्रमुख हुने व्यवस्था ऐनले गरेको छ । ४ वर्षे कार्यकालका लागि रजिष्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्ने ऐनले तोकेको छ । उक्त दफाहरु संशोधन नहुँदा प्रतिष्ठानको उपकुलपति नियुक्तिमा समस्या देखएको थियो । यद्यपी प्रदेश सरकारले ऐन अनुकुल बनाउन सामाजिक विकास मन्त्रीबाट सिफारिस गराएर स्वास्थ्य मन्त्रीको सहमति गराएर उपकुलपति नियुक्त गरिसेकको छ ।

प्रतिष्ठानको उपकुलपति नियुक्तिमा समस्या देखिएपछि प्रदेश सरकारले प्रतिष्ठानको ऐन संशोधनको तयारी गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको ऐन संशोधनका लागि प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको छ । प्रतिष्ठानको ऐनमा भएका केही प्रावधानहरु परिवर्तन गर्ने सरकारको तयारी रहेको छ । मन्त्रालयका अनुसार प्रतिष्ठानको ऐनमा सामाजिक विकास मन्त्रालय भनिएको स्थानमा स्वास्थ्य मन्त्रालय बनाउने गरी ऐन संशोधनको तयारी गरिएको छ ।

मन्त्रालयले मुख्यतः ऐनका ४ दफामा संशोधनको तयारी गरेको छ । ऐनको दफा २ को (ट) मा भएको व्यवस्था संशोधनको तयारी गरेको छ । जसमा मन्त्रालय भनिएको स्थानमा सामाजिक विकास मन्त्रालय हटाएर स्वास्थ्य मन्त्रालय राख्ने गरी संशोधन गर्ने तयारी रहेको छ । दफा ५ को (घ) मा भएको सेवा आयोगको व्यवस्था गरिएको छ । जसलाई हटाउने गरी सेवा आयोग नरहने व्यवस्था गर्न संशोधन प्रस्ताव गरिएको छ ।

त्यस्तै ऐनको दफा ७ को उपदफा २ (च) पछि एक बुँदा थप गर्ने तयारी गरिएको छ । सो दफामा सभाको गठनको व्यवस्था रहेको र सो बुँदामा नभएको प्रदेश सचिवलाई सदस्य रहने व्यवस्था गर्नेगरी संशोधनको तयारी गरिएको छ । ऐनको दफा १७ को उपदफा (२) मा भएको प्रतिष्ठानको सहकुलपति सामाजिक विकास मन्त्री हुने व्यवस्थालाई हटाएर स्वास्थय मन्त्री हुने व्यवस्था रहने गरी संशोधनको तयारी गरिएको छ । उक्त संशोधन विधेयक आगामी प्रदेशसभा बैठक अधिवेशनमा पेश हुनेगरी अघि बढाइने मन्त्रालयको भनाई छ ।

Exit mobile version