Home मुख्य समाचार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली नियुक्त

हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त हुनुभएका डा. ज्ञवाली पाल्पाका हुनुहुन्छ । उहाँलाई सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा मन्त्रिपरिषद् बैठकले उपकुलपतिमा नियुक्त गरेको हो ।

गत साउन १५ गतेदेखि रिक्त उपकुपति पदमा प्रदेश सरकारले २ महिनापछि डा. ज्ञवालीलाई नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट अफ मेडिसिन क्लिनिकल फर्माकोलोजीमा मास्टर्स गरेका डा. ज्ञवाली महाराजगञ्ज मेडिकल क्याम्पस एशोसियट प्रोफेसर हुनुहुन्छ । टिचिङ अस्पताल अन्तर्गतको सो क्याम्पसको अनुसन्धान शाखाको प्रमुख समेत हुनुहुन्छ । उहाँ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य–सचिव समेत भएर काम गरिसक्नुभएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्री थापाको संयोजकत्वमा रहेको सिफारिस समितिले डा. ज्ञवालीसहित डा. हरि बहादुर खड्का र डा. सुजन मानन्धरलाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Exit mobile version