Home अन्तरवार्ता सामुदायिक क्याम्पस प्रदेश सरकारलाई सहर्ष हस्तान्तरण गर्छौं

सामुदायिक क्याम्पस प्रदेश सरकारलाई सहर्ष हस्तान्तरण गर्छौं

मुनु सिग्देल, अध्यक्ष, हेटौंडा क्याम्पस सञ्चालक समिति

उच्च शिक्षामा समुदायको योगदानको विश्लेषण हुने गरेको छैन । देशका लाखौं विद्यार्थी समुदायको सक्रियतामा सञ्चालित महाविद्यालयहरुमा उच्च शिक्षा हासिल गर्दैछन् । संघीय संरचनाले प्रदेश सरकार स्थापित गरेपछि अहिले प्रदेश विश्वविद्यालयको चर्चा बढ्दो क्रममा छ । यस्तो पृष्ठभूमिका बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सोमबार हेटौंडा क्याम्पसको क्याम्पस सभालाई सम्बोधन गर्नुहुँदै प्रदेशका अब्बल सामुदायिक क्याम्पसलाई प्रदेश विश्वविद्यालय र आंगिक क्याम्पसको रुपमा विकसित गरिने बताउनुभएको छ । यसै सन्दर्भमा हेटौंडा क्याम्पस सञ्चालक समितिकी अध्यक्ष मुनु सिग्देलसँग समृद्ध समाज दैनिककी संवाददाता जेनिशा घिमिरेले गर्नुभएको कुराकानीः

समाजः हेटौंडा क्याम्पसको ११ औं क्याम्पस सभा सम्पन्न भएको छ । क्याम्पस सभामा के कस्ता विषयमा छलफल भयो ?

सिग्देलः क्याम्पस सभामा हुने कुरा भनेको क्याम्पसले वार्षिक रुपमा गरेको कार्यको प्रगति त्यसको पृष्ठभूमि र अगामी दिनमा के–के गर्ने भनेर योजना, शैक्षिक योजना र आर्थिक हरहिसाबको अनुमोदन, लेखा परीक्षण प्रतिवेदन पारित यो एउटा नियमित प्रक्रिया हो । गत वर्ष गरेको कामको समिक्षा र अगामी वर्षको योजनामुखी कुरा चाही क्याम्पस सभाबाट पास भइसकेपछि त्यो एउटा नीति कार्यक्रमको रुपमा त्यो अनुसारको अगामी वर्षको बजेटहरु निर्माण गर्ने, त्यसपछि कामहरु हुन्छ । हामीले के–के गर्ने उद्देश्य निर्धारण गरिसकेपछि त्यसको आधारमा बजेट निर्धारण गर्ने कुराहरु हुन्छ ।

समाजः पछिल्लो समय हेटौंडा क्याम्पसमा सुधार भएका प्रमुख विषयहरु के–के हुन् ?
सिग्देलः हेटौंडा क्याम्पस स्थापनादेखि नैै यसले आरोह–अवरोह, अप्ठ्यारो अवस्था सबै पार गर्दा यहाँसम्म आइसकेको छ । पछिल्लो समय हामीले क्याम्पसको खासगरीकन शैक्षिक गुणस्तर सँगसँगै भौतिक विकास गर्न हामी प्रयत्नरत छौं । हाम्रो टिम, क्याम्पस प्रशासन, क्याम्पस सभा सदस्यहरु र क्याम्पसको शिक्षकहरु, विद्यार्थीहरु सबैको पहलमा सबैको समान सहभागिता, सबैको एउटा जिम्मेवारीको कारणले गर्दाखेरी हामीले शैक्षिक गुणस्तर कायम गर्न सफल भएका छौं । देशकै एउटा नमुना क्याम्पसको रुपमा हेटौंडा क्याम्पसले उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिराखेको छ । भौतिक संरचनाको कुरा गर्दाखेरी अब हामीसँग अहिलेको अवस्थामा अरु संख्याहरु थप्दाखेरी पनि भौतिक संरचना थोरै छ त्यसको बाबजुद पनि हामीसँग जति छ त्यसबाट नै भवन निर्माण गरिसकेका छौं । केही भौतिक निर्माणका कामहरु बाँकी छ । अहिले भवनहरु निर्माण गरेका छौं । त्यसैगरी पुस्तकालय, शौचालय, महिलामैत्री शौचालय, अपाङगमैत्री सबै हिसाबले मैत्रीपूर्ण निर्माण गरेका छौं । त्यसैगरी क्याम्पस परिसरमा इन्टरलक ओछ्याउने, सीसी क्यामेराहरु राख्ने कामहरु गरेका छौं । यो भौतिक प्रगति हो । अहिले कोभिडको कारणले गर्दाखेरी कलेजहरु चलेका छैनन् । यो बीचमा पनि हामीले भौतिक निर्माणका कामहरु सम्पन्न गरेका छौं ।

समाजः समुदायको सक्रियतामा क्याम्पस सञ्चालन भईरहेको अवस्था छ । समुदायले किन यत्रो जिम्मेवारी बोकिरहेका जस्तो लाग्छ ?
सिग्देलः कस्तो छ भने हाम्रो मुलुकमा सरकारले शिक्षा, स्वास्थ्य लगायतको मौलिक हक हुन् । तर, सरकारले यो सबै कुरा सरकारसँग पहुँचमा नभएको बेलामा अथवा हेटौंडामा खासगरीकन सामुदायिक कलेजहरुमा हेटौंडा कसरी स्थापना भयो भन्ने तिर हामी जानुपर्छ । जतिबेला शिक्षा क्यामपसका रुपमा विद्यालयमा पढाउने शिक्षकहरु उत्पादन गर्नको लागि १ वर्षे बिएडबाट सुरु गरेको हो । त्यसपछि प्लस टु हुँदै यसलाई चाही खासगरी स्नात्तकोत्तर तहसम्म पढाइने क्याम्पस बनेको छ । यसलाई हामीले शिक्षा क्याम्पसको रुपमा यहाँ सम्म ल्यायौं । समुदायले उच्च शिक्षा हासिल गर्नको लागि हेटौंडाबाट बाहिर जानुपर्ने बाध्यता थियो । जिल्ला बाहिर अध्ययनका लागि जाँदा खर्च र सुरक्षाको हिसाबले बढी खर्चिलो पनि हुने । यही नै विहान बेलुका दिउँसो स्कूल चल्ने गरेर समुदायकै पहलमा त्यो शिक्षाको पहुँचबाट टाढा रहेको समुदायले नजिकै थोरै पैसामा समुदाय कलेजहरु नाफा कमाउने उद्देश्यले होइन ।
खाली सेवा दिने उद्देश्यले सञ्चालित कलेज हो । यसका भौतिक संरचनाहरुमा सरकारले सहयोग गर्ने र नियमित कक्षा सञ्चालन गर्ने शिक्षकरुलाई तलब दिने सबै कामहरु विद्यार्थीहरुबाटै उठेको शूल्कबाट नै क्याम्पस सञ्चालन भएको हो । सरकारले यो सबै क्याम्पसमा पढाई भईरहेको भए यस्तो सामुदायिक कलेजहरु खोल्नु परेको अवस्था पनि थिए । त्यो नभएको अवस्थामा शिक्षाबाट चाही कोही पनि मकवानपुरे बञ्चित हुन नपरोस भनेर यो कलेजहरु खोसलिएको हो । पछिल्लो समयमा तीनै तहका सरकारहरु निर्वाचित भएर आइसकेपछि कलेजलाई भौतिक संरचना निर्माण गर्न सहयोग पनि भएको छ । यसले पनि नीतिहरु बनाउनु पर्छ । सामुदायिक कलेजहरुलाई सहयोग गर्ने गरी सरकारले अब नीति बनाउनुपर्छ ।

समाजः तपाई क्याम्पस सञ्चालक समितिको अध्यक्षसँगै बागमति प्रदेश सभा सदस्य पनि हुनुहुन्छ । क्याम्पस सभामा सामाजिक विकास मन्त्रीले सामुदायिक क्याम्पसलाई प्रदेश विश्वविद्यालय र आङ्गिक क्याम्पसको रुपमा विकास गरिने बताउनुभएको छ । तपाईहरु हेटौंडा क्याम्पस प्रदेश सरकारलाई स्वामित्व हस्तारण गर्न तयार हुनुहुन्छ ?
सिग्देलः स्वामित्व हस्तान्तरण भनेको यो सरकारकै दायित्वको कुरा हो । यो हामीले नाफा कमाउने संस्था पनि होइन । हामीले त्यहाँ कुनै सेवा सुविधा लिएर गएका पनि होइनौं । हामीसँग भएको समय हामीले एउटा स्वयम्सेवी रुपमा क्याम्पस सञ्चालक भएका छौं । निजी क्याम्पसमा जस्तो हामीले लगानी गरेका छैनौं । संस्थाकै लगानी र आम्दानी संस्थामै रहन्छ । हामी नाफा खाने उद्देश्यले खोलिएको संस्था नभएको हुनाले यो सरकारको दायित्वभित्र पर्ने कुरा हो । भोलिका दिनमा सरकारले आंगिक क्याम्पसको रुपमा यो क्याम्पसलाई सञ्चालन गर्नको लागि अवसर दिन्छ भने हामी स्वतःस्फूर्त खुसीखुसी सहयोग गर्ने छौं । प्रदेशको विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पसको रुपमा यसलाई विकास गर्ने यसलाई अझै धेरै संकायहरु कानुन, व्यवस्थापन, प्राविधिक शिक्षा पनि सञ्चालन गर्ने गरी हामीले तयारी पनि गरिरहेका छौं । यसको लागि हामीसँग ठूलो बजेट चाहिन्छ हामीलाई धेरै जनशक्ति चाहिन्छ । यो प्रदेश सरकारको मातहत रहँदाखेरी अझै धेरै सुविधाहरु यहाँका जनताहरु, विद्यार्थीहरुले पाउने छन् । कार्यरत प्राध्यापक, कर्मचारीले पाउँछन् ।

समाजः लकडाउनले सबै क्षेत्र प्रभावित बनेको अवस्था छ । हेटौंडा क्याम्पसले पठनपाठन सञ्चालन र शिक्षक कर्मचारीको सेवा सुविधा व्यवस्थापनको लागि कस्तो योजना बनाउँदै छ ?
सिग्देलः हामीले पठनपाठनको लागि पहुँच माग भएको एमएड, विएडको कक्षाहरु चाही अनलाइनबाट केही कक्षा सञ्चालन भईरहेको छ । तर कक्षा ११, १२ का विद्यार्थीहरु सबै इन्टरनेटको पहुँचमा छैनन् । ल्यापटप, मोबाइल हुँदैन । गाउँका विद्यार्थीहरु छन् । हेटौंडा क्याम्पसमा पढ्ने अधिकांश विद्यार्थी भनेको गाउँका मध्य तथा निम्न वर्गीय परिवारका छन् । त्यसैले सबै विद्यार्थीलाई समेट्न सकेका छैनौं । तर सम्भव भएसम्म अनलाइन कक्षाहरु भइरहेकै छन् । अब शिक्षकका सेवा सुविधाको सन्दर्भमा हामीले तलब खुवाउन सकेका छैनौं । यो विद्यार्थीको शूल्कबाट चल्ने क्याम्पस हो । भौतिक संरचना निर्माण गर्दाको ऋणमा नै छौं । त्यसैले प्राध्यापक, कर्मचारीले सेवा सुविधा पाउन सकेका छैनन् । हामीले सरकारलाई अनुरोध पनि गरेका छौं । हामीले केही सरसल्लाह गर्दैछौं । केही ऋणमा भएपनि अप्ठ्यारोमा परेका प्राध्यापकलाई सेवा सुविधा दिने छलफल गर्दैछौं ।

Exit mobile version