Home मुख्य समाचार स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाः आर्थिक प्रगति ७० प्रतिशत, भौतिक प्रगति ९० प्रतिशत

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाः आर्थिक प्रगति ७० प्रतिशत, भौतिक प्रगति ९० प्रतिशत

समीक्षापछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय वार्षिक समीक्षा भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा मंगलबार र बुधबार दुई दिन एक वर्षभित्र भएका सम्पादित कार्यक्रमहरुको समीक्षा भएको हो ।

जिल्लाभित्रका १० वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख, जिल्लाभित्रका गैरसरकारी संस्था र निजी अस्पतालका प्रमुखहरुको सहभागितामा समीक्षा भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका सूुचना अधिकारी लक्ष्मण घिमिरेले कार्यालयबाट भएका कार्यक्रमको प्रस्तुति राख्नुभयो । गत आर्थिक वर्षमा कार्यालयले ९५ करोड २७ लाख ८६ हजार रुपैयाँ विनियोजित बजेटमध्ये ७० प्रतिशत खर्च गरेको छ भने भौतिक प्रगति ९० प्रतिशत भएको छ ।

सूचना अधिकारी घिमिरेका अनुसार कार्यालयमा १० पटक जनस्वास्थ्य समन्वय समितिको बैठक बसेको छ भने १२ पटक बजार अनुगमन गरेको छ । यस्तै, स्थानीय तह तथा जिल्लास्तरीय महामारी प्रतिकार्य तथा पूर्वतयारी योजना निर्माण तथा सहजीकरण ११ पटक, मानसिक तालिम २५, विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम २ सय ५ र क्षयरोग पुनर्ताजगी तालिम २३ पटक सञ्चालन गरेको छ ।

गत वर्षमा जिल्लाभित्र ३१ हजार ७ सय ५४ बालबालिकालाई दादुरा खोप लगाइएको छ । लक्ष्यको ९९ प्रतिशत खोप लगाइएको हो । सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकामा १२ हजार ८ सय ६५ जना, मनहरी गाउँपालिकामा ३ हजार १ सय १५, थाहा नगरपालिकामा २ हजार ५ सय १८ जना र सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकामा ७ सय ८४ जना बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको छ ।

जिल्लाभित्र ८ हजार ७ सय ७ जनाको क्षयरोग जाँच गर्दा ३ सय २ जनामा पोजेटिभ नतिजा आएको थियो । जिल्लाभित्र चालु आर्थिक वर्षको साउनदेखि असोज ७ गतेसम्म ६ सय १२ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । कार्यालयले डिजिटल एक्सरेमार्फत् भीमफेदी गाउँपालिकास्थित कारागारमा नौ सय २५ जनाको स्वास्थ्य परीक्षण गर्दा आठ जना नयाँ क्षयरोगी भेटिएका थिए । यस्तै, डिजिटल एक्सरेमार्फत् मनहरी गाउँपालिकामा पाँच सय ६४ जनाको स्वास्थ्य परीक्षण गर्दा १५ जना नयाँ क्षयरोगी भेटिएका छन् ।

समीक्षाको अवसरमा वार्षिक कार्यसम्पादनका आधारमा पालिका र स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारको सभाध्यक्ष तथा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक बसन्त अधिकारी, स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. खगेश्वर गेलाल, प्रदेश स्वास्थ्य निर्देशनालयका शाखा प्रमुख डा. नवीन दर्नाल र हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटालगायतको आतिथ्य रहेको थियो ।

Exit mobile version