Home खेलकुद बागमती सरकारद्वारा पलेशालाई हेटौँडा नगर परिक्रमा

बागमती सरकारद्वारा पलेशालाई हेटौँडा नगर परिक्रमा

हेटौँडाः बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक विजेता खेलाडी पलेशा गोवर्द्धनलाई प्रदेश राजधानी हेटौँडा नगर परिक्रमा गराएको छ । प्रदेश खेलकुद विकास परिषद्को व्यवस्थापनमा पदक विजेता पलेशालाई हेटौँडा परिक्रमा गराएको हो । प्रदेश सरकारले पलेशालाई नगर परिक्रमा गराएर नगद १० लाख रुपैयाँ नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसको अवसरमा प्रदेश सरकारले पलेशालाई नगर परिक्रमा गराएर १० लाख रुपैयाँ नगदसहित सम्मान गर्दैछ ।

प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनका अनुसार पलेशासहित उनका प्रशिक्षक कविराज नेगीलाई ३ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई ३ लाख रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाख रुपैयाँसहित सम्मान गरिने मन्त्री महर्जनले बताउनुभयो । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । एरिकाले २५ वर्षपछि नेपाललाई करातेमा रजत पदक दिलाएकी हुन् । यसअघि सविता राजभण्डारीले देशलाई रजत पदक दिलाएकी थिइन् । नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३ औं एसियाली खेलकुदमा तेक्वान्दोकी सविताले पहिलो पटक रजत दिलाएकी थिइन् ।

प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख रुपैयाँ र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

Exit mobile version