Home खेलकुद राष्ट्रिय रोटरी भेट्रान्स फुटबलको सेमीफाइनल समीकरण पूरा

राष्ट्रिय रोटरी भेट्रान्स फुटबलको सेमीफाइनल समीकरण पूरा

हेटौँडाः हेटौँडामा जारी तेस्रो संस्करणको राष्ट्रिय रोटरी मकवानपुर पिप्ले क्याम्पा भेट्रान्स फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । आइतबार बिहान हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा क्वार्टरफाइनल चरणको अन्तिम एक खेल सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । पोखराको बगरभाइ खलक भेट्रान्सलाई टाइब्रेकरमा ६–५ गोलले हराउँदै हरिवन भेट्रान्स सेमीफाइनलमा प्रवेश गरेको छ ।

खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । टाइब्रेकरमा दुबै पक्षका ५–५ जना खेलाडीहरुले बल प्रहार गर्दा दुई पक्षकै ४–४ जना खेलाडीको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि नतीजाका लागि सडनडेथमा धकेलिएको थियो । सडनडेथमा हरिवन भेट्रान्स विजयी भएको हो ।

प्रतियोगिता अन्तर्गत आज आइतबार दिउँसो पहिलो सेमीफाइनल खेलमा जीतपुर–सिमरा उपमहानगरपालिकाको नवजनजागृति भेट्रान्स सिमरा र झापाको पूर्वेली भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ भने भोलि सोमबार दोस्रो सेमीफाइनल खेलमा काठमाडौं महानगरपालिकाको फ्रिडम फाइटर भेट्रान्स र हरिवन भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वोकृष्ट प्रशिक्षकले १० हजार रुपैयाँ, सर्वोकृष्ट खेलाडीले ५ हजार रुपैयाँ, सर्वोकृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर र फरवार्डले ५–५ हजार रुपैयाँ नगद राशि प्राप्त गर्नेछन् ।

Exit mobile version