Home मुख्य समाचार बागमती वन मन्त्रालयको समीक्षाः ऐन कार्यान्वयनमा संघ बाधक

बागमती वन मन्त्रालयको समीक्षाः ऐन कार्यान्वयनमा संघ बाधक

हेटौंडाः बागमती प्रदेशमा वन व्यवस्थापनका काम अघि बढाउन संघीय सरकार बाधक देखिएको छ । वन क्षेत्रको व्यवस्थापनका लागि वन ऐन निर्माण गरे पनि संघीय सरकारका कारण कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश सरकारले प्रदेश क्षेत्रको वनहरुको व्यवस्थापनका लागि २०७६ मा प्रदेश राष्ट्रिय वन ऐन बनाएको थियो । तत्कालीन सरकारले विधेयक संसदमा दर्ता गराएर समितिबाट छलफल र संशोधनसहित पारित गरेको उक्त ऐन हालसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

संघीय सरकारले दिगो वन व्यवस्थापन रणनीति निर्माण नगर्दा प्रदेश सरकारले बनाएको उक्त ऐन कार्यान्वयनमा आउन नसकेको हो । देश सरकारले राष्ट्रिय वन र निजी वनबाट वन पैदावर बिक्री गरी राजस्व संकलन गर्ने लक्ष्यसमेत निर्धारण गरेको छ । तर, ऐन कार्यान्वयनमा नआउँदा उक्त विषयहरु अघि बढ्न सकेको छैन ।
बागमती प्रदेशभन्दा पछि संघीय सरकारले राष्ट्रिय वन ऐन जारी गरेकाले थुप्रै प्रावधानहरु बाझिएका छन् । प्रदेशको ऐनका प्रवधानहरु संघीय ऐनसँग बाझिँदा कार्यान्वयनमा आउन नसकेको प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव धीरेन्द्रकुमार प्रधानले बताउनुभयो । संघले बनाएको ऐनसँग बाझिएपछि उक्त ऐन कार्यान्वयनमा आउन नसकेको उहाँले बताउनुभयो । ऐन बाझिएकाले संशोधन गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

वनका निकायहरु अर्ध न्यायिक निकाय भएकाले दण्ड सजायका व्यवस्था पनि संघसँग बाझिएको उहाँले बताउनुभयो । दण्ड सजायका विषयमा दोहोरोपन हुन नहुने भएकाले प्रदेश ऐन कार्यान्वयनमा समस्या भइरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले ऐन निर्माण गरेसँगै प्रदेश वन नियमावली समेत ड्राफ्ट गरेको थियो । तर, ऐन नै कार्यान्वयनमा बाधा देखिएपछि नियमावली निर्माणको विषयमा सरकार अघि बढ्ने अवस्था नै नरहेको मन्त्रालयका सचिव प्रधानले बताउनुभयो ।

ऐन कार्यान्वयन नहुँदा प्रदेशको राजस्व गुम्दै

प्रदेश सरकारले संविधानकने एकल अधिकार सूचीमा प्रदेशभित्रका राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापनका लागि उक्त ऐन बनाएको थियो । संविधानले एकल अधिकार दिए पनि प्रदेशले कानुन बनाएर वन व्यवस्थापन र राजस्व संकलनका काम अघि बढाउन सकेका छैनन् । प्रदेश सरकारले निर्माण गरेको ऐनमा सामुदायिक वन, साझेदारी वन, कबुलियती वन, धार्मिक वन र निजी वनमा प्रदेश सरकारले निगरानी गर्ने व्यवस्था गरेको छ । वन ऐन र सरकारी कार्ययोजना विपरित जाने जोकोहीलाई कारबाही गर्नसक्ने व्यवस्था ऐनले गरेको छ ।

वातावरणीय महत्व भएका, ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका, अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रसहित पानीका मुहान, संवेदनशील जलाधार क्षेत्र, दुर्लभ तथा लोपोन्मुख अवस्थाका वनस्पति, वन्यजन्तु तथा जैविक विविधता संरक्षण र व्यवस्थापनका विषयहरु पनि ऐनमा समेटिएको छ । वन क्षेत्रमा चरा, जनावर, दृश्य अवलोकन, वन उद्यम, पर्यापर्यटन लगायतका कार्यक्रम सञ्चालनको व्यवस्था ऐनमा गरिएको छ ।

ऐनमा जडिबुटी तथा गैरकाठ वन पैदावर विकास बोर्ड गठन, वन क्षेत्रलाई विभिन्न अध्ययन तथा अनुसन्धानका लागि उपलब्ध गराउनेलगायतका विषयहरु व्यवस्था गरिएको छ । राष्ट्रिय वनमा जडिबुटी खेती, कृषि वन, बाली वा वनजन्य फलफूल खेती गर्न सकिने व्यवस्था ऐनले गरेको छ । सार्वजनिक निजी साझेदारीमा जडिबुटी संकलन, खेती र प्रशोधन एवम् बजारीकरणको व्यवस्था समेत गरेको छ ।
प्रदेश सरकारले मानिस, घरपालुवा जनावर र खेतीपातीमा हानि गर्ने वन्यजन्तुलाई हानिकारक वन्यजन्तु घोषणा गर्ने व्यवस्था ऐनमा गरेको छ । हानिकारक वन्यजन्तुलाई धपाउने र नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाउनु पर्नेछ । नियन्त्रणमा लिएका वन्यजन्तुलाई वन, चिडियाखाना, प्राणी उद्यान वा वन्यजन्तु उद्धार केन्द्रमा व्यवस्थापन गरिनेछ । वन्यजन्तुका कारण हानि पुगेका व्यक्तिलाई सरकारले राहत उपलब्ध गराउने र सम्बन्धित वन उपभोक्ता समूहले पनि राहत दिनसक्ने व्यवस्था छ ।

ऐन सशोधन गर्न संसदीय समितिको निर्देशन

बागमती प्रदेशअन्तर्गतको उद्योग, पर्यटन तथा वातावरण समितिले तत्काल प्रदेश राष्ट्रिय वन ऐन संशोधन गर्न निर्देशन दिएको छ । संघीय सरकारले जारी गरेको ऐनसँग अनुकूल हुने गरी ऐन संशोधनको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो । सभापति आनन्दकुमार श्रेष्ठले समितिको बैठकमा वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल र सचिव प्रधानलाई संघीय ऐनसँग बाझिएका व्यवस्थाहरु तत्काल संशोधन गर्न निर्देशन दिनुभएको हो । सभापति श्रेष्ठले वन तथा वातावरण संरक्षणका विषयहरु अति संवेदनशील भएकाले आवश्यक प्रक्रिया पूरा गरी ऐन संशोधनका लागि पेस गर्न र सोबारे समितिलाई जानकारी गराउन निर्देशन दिएको बताउनुभयो ।

वन तथा वातावरणका संरचनाहरु अर्धन्यायिक निकाय भएकाले कानुनीरुपमा सशक्त र जिम्मेवार बनाउन ऐन संशोधनमा गम्भीर हुन उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो । कानुनी अप्ठेराका विषयहरु समाधान गर्न संघीय सरकारसँग आवश्यक समन्वय गरेर नयाँ ढंगबाट अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

Exit mobile version