Home अर्थ/व्यापार आन्दोलनका कार्यक्रम तय गर्न मउवासंघको बैठक बस्दै

आन्दोलनका कार्यक्रम तय गर्न मउवासंघको बैठक बस्दै

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले राजश्वको दरमा उच्च वृद्धि गरेको विरोधमा मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनको कार्यक्रम तय गर्न अहिले बैठक बसिरहेको छ । आज साँझ साढे ५ बजेदेखि संघको कार्यालयमा बैठक सुरु भएको छ । बैठकअघि संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा संघका पदाधिकारीले हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई राजश्व वृद्धिको प्रक्रियाको चरणवद्ध निर्णयको प्रतिलिपि माग गर्दै पत्र बुझाएको छ ।

राजश्व परामर्श समितिका सदस्य, नगर कार्यपालिकाका सदस्य, नगर सभाका सदस्य समेतले राजश्व वृद्धिको विषयमा कुनै ठोस छलफल र निर्णय नभएको भनी स्पष्टीकरण सार्वजनिक गरेसँगै व्यवसायीले कानुनीरुपमा राजश्व वृद्धि भए, नभएको बुझ्ने निर्णयको प्रतिलिपि नै माग गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघले कानुनी उपचारसँगै आन्दोलनका कार्यक्रम तय गर्न बैठक बोलाएको अध्यक्ष कृष्ण कुमार गुप्ताले जानकारी दिनुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघले निर्माण व्यवसायी संघ मकवानपुरसँगै संघ मातहतका बस्तुगत संघलाई समेत परिचालन गरेर आन्दोलन गर्ने तयारी गरेको छ । यसअघि निर्माण व्यवसायी संघ मकवानपुरको शनिबार बिहान बसेको बैठकले आन्दोलन गर्ने निर्णय गरिसकेको छ । निर्माण व्यवसायी संघले आइतबार पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गनर्ने तयारी गरे पनि मकवानपुर उद्योग वाणिज्य संघको बैठक बस्न ढिलाई भएको छ ।

हाम्रो नजिकको, साझेदारी गरेर अगाडि बढ्नुपर्ने स्थानीय सरकारको विरुद्धमा आन्दोलन गर्नु सामान्य विषय नभएको र आन्दोलन घोषणापछि पछाडि फर्कनु चुनौतिपूर्ण हुने भएकोले कार्यसमितिका सबै सदस्यको सल्लाह, सुझाव लिएर व्यवस्थित ढंगबाट आन्दोलनको घोषणा गर्ने तयारी भएकोले केही ढिलाई भएको अध्यक्ष गुप्ताले बताउनुभएको छ । आन्दोलनका प्रभावकारी कार्यक्रम तय गरेर अगाडि बढ्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

Exit mobile version