Home अर्थ/व्यापार मउवासंघले हेटौँडा उपमहानगरसँग करवृद्धिको प्रक्रियागत निर्णय माग्यो

मउवासंघले हेटौँडा उपमहानगरसँग करवृद्धिको प्रक्रियागत निर्णय माग्यो

हेटौँडा उपमहानगरपालिकाले राजश्वको दर वृद्धि गर्ने प्रक्रियाअन्तर्गत विभिन्न चरणमा गरिएका निर्णयको प्रति माग गर्दै प्रमुख प्रशासकीय अधिकृत गौतमलाई पत्र बुझाउँदै संघका अध्यक्ष गुप्तासहितका पदाधिकारीहरु ।

हेटौँडाः मकवानपुर उद्योग वाणिज्य संघले हेटौँडा उपमहानगरपालिकासँग चालु आर्थिक वर्षका लागि राजश्वको दर वृद्धि गर्ने प्रक्रियाको चरणवद्ध निर्णय माग गरेको छ । राजश्व परामर्श समिति, कार्यपालिका र नगरसभा तीनै चरणमा राजश्व वृद्धि गर्ने निर्णयको प्रति दिन माग गरेको हो । आइतबार दिनको ४ बजेको समयमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमलाई राजश्वको दर वृद्धि गर्ने प्रक्रियाको चरणवद्ध निर्णय माग गर्दै पत्र बुझाएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाट, उज्ज्वल चौलागाई, महासचिव दीपक उप्रेती, सदस्यहरु कुलप्रसाद चौलागाई र सन्तोष अर्यालको समूह उपमहानगरपालिकाको कार्यालय पुगेर प्रमुख प्रशासकीय अधिकृत गौतमलाई पत्र बुझाएका छन् । हेटौँडा उपमहानगरपालिकाले करको दर उच्च बढाएको भन्दै व्यवसायीहरु आन्दोलनको तयारीमा समेत छन् । आइतबार कानुन व्यवसायीसँगको परामर्श पछि मकवानपुर उद्योग वाणिज्य संघले करवृद्धि गर्ने प्रक्रियाअन्तर्गत विभिन्न चरणको निर्णय माग गरेको हो ।

नगरसभा सदस्य र कार्यपालिका सदस्यहरुले समेत राजश्वको दर वृद्धि गर्ने विषयमा स्पष्ट छलफल नभएको भनी स्पष्ट पारिरहेका बेला संघले उपमहानगरपालिकासँग राजश्व वृद्धि गर्ने प्रक्रियाको चरणवद्ध निर्णय माग गरेको हो ।

Exit mobile version